बन्दिपुर गाउँपालिका-१ बस्ने ऋषिराम अधिकारीको सोही ठाउँमा रहेको १२ रोपनी जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले पुस ९ गते बिहान कब्जा गरेको घोषणा गरेका छन् ।
नेकपा तनहुँको जिल्ला जनपरिषद्ले अधिकारीको जग्गामा पार्टीको झण्डासहित ब्यानर राखेर जग्गा कब्जाको घोषणा गरेको हो ।

यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पार्इँदैन अन्यथा जनपरिषद्ले कडा कारवाही गर्नेछ भन्ने ब्यानर राखी जग्गा कब्जाको घोषणा गरिएको पीडित अधिकारीले बताए ।
जिल्ला जनपरिषद् तनहुँका प्रमुख तथा नेकपाका जिल्ला सेक्रेटरी पुर्णजित पुनले सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व जनपरिषद्को भएको हुँदा सार्वजानिक जग्गा संरक्षणको पहल गरेको बताए ।
उनले सार्वजानिक जग्गा अतिक्रमण गर्नेविरूद्ध जनपरिषद्ले आवश्यक कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
जनपरिषद्ले जग्गा कब्जाको घोषणा गरी झण्डा र ब्यानर टाँगेर गएपनि दिउँसो प्रहरीले सो झण्डा र ब्यानर हटाएको छ ।
सर्वसाधारणको जग्गा कब्जा गर्नु गैरकानुनी कार्य भएको हुँदा प्रहरीले त्यस्तो कार्यमा रोक लगाउने जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले बताए ।
पीडित अधिकारीले आफुले सार्वजनिक जग्गा अतिक्रमण गरेको नभई सो जग्गा आफ्नो पुख्र्यौली भएको बताए ।