जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कैलाली जिल्ला कारागारबाट भागेका ३ सय २८ जना कैदीबन्दीहरु अझै सम्पर्कमा आएका छैनन् ।
कारागारबाट फरार कैदीबन्दीहरुलाई असोज २० गतेसम्म स्वस्फुर्त रुपमा फर्किन सूचना जारी गरिएको भए पनि असोज २० गतेसम्म ३६ जना महिला कैदीबन्दी सहित ३ सय ३९ जना कैदीबन्दी मात्रै फर्किएका र बाँकी ३ सय २८ जना कैदीबन्दीहरु सम्पर्कमा नआएको कैलाली जिल्ला कारागारका निमित्त जेलर रामकुमार चौधरीले बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘फरार कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने समयसीमा तोकिएको थियो । तोकिएको समयमा नफर्किने कैदीबन्दीलाई कारागार ऐन २०७९ अनुसार थप कारबाही हुन्छ । लुकिछिपी बसेका कैदीबन्दीलाई प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेर ल्याउनु पर्ने हुन्छ । परिवारले संरक्षण दिएको पाइएमा उहाँहरुलाई पनि प्रचलित कानुन अनुसार कारबाही गरिने छ ।’
कैलाली जिल्ला कारागारमा ५८ जना महिला कैदीबन्दी सहित ६ सय ६७ जना कैदीबन्दी रहेका थिए । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा सबै कैदीबन्दीहरु कारागारबाट भागेका थिए ।
अहिलेसम्म पनि २२ जना महिला सहित ३ सय २८ जना कैदीबन्दीहरु फरार अवस्थामा रहेका कारण सुरक्षाका दृष्टिकोणबाट पनि चुनौती रहेकाले प्रहरीले खोजी कार्य गरिरहेको निमित्त जेलर चौधरीको भनाइ छ ।
मैनामोती चौधरी