INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बनः आयोग

भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका एजेण्डाहरुसहित गत भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको प्रदर्शनका घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर हुन जाँदा शान्ति सुरक्षामा थप चुनौती सिर्जना हुन सक्ने अवस्था सिर्जना भएकोले शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न आयोगले सरकारलाई निर्देशन दिएको छ ।

प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापश्चात्को मानव अधिकारको अवस्थाको बारेमा आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको ०८२ असोज १० गते जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रदर्शनको पहिलो दिनको पूर्वान्हमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्यान्हपश्चात् आगजनीका घटना र प्रदर्शनकारीमाथि गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको आयोगले जनाएको छ ।

पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्ध आगजानी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको विज्ञप्तीमा उल्लेख छ ।
आगजनीबाट महत्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यवसायिक भवन, शैक्षिक संस्था, सञ्चारगृह र प्रहरी कार्यालयहरुमा अत्याधिक क्षति पुगेको देखिएको आयोगले जनाएको छ ।
आगलागी र तोडफोडका क्रममा केही व्यक्तिहरुको जलेर समेत मृत्यु भएको, सरकारी अभिलेख जलेको, भौतिक सम्पत्तिमा क्षति पुगेको, सुरक्षाकर्मीका हातहतियारहरु लुटिएको र कतिपय सामानहरु चोरी र लुटपाट गरिएको समेत पाइएको विज्ञप्तीमा जनाइएको छ ।

शैक्षिक संस्थाहरुमा क्षति पुग्दा बालबालिकाको पठनपाठनमा बाधा उत्पन्न हुनुका साथै बालमनोविज्ञानमा समेत असर परेको आयोगले जनाएको छ ।

घटना हुुनुपूर्व घटना हुनसक्ने संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी देखिएको आयोगले उल्लेख गरेको छ ।

सुरक्षाकर्मीका भवनहरु जलेर नष्ट भएको, प्रहरीका कतिपय भवन मर्मत÷निर्माण गर्न समुदायले सहयोग गरेको भए पनि सबै कार्यालय पुनर्निर्माण हुन नसक्दा सुरक्षालगायत प्रहरीबाट प्रदान गरिने सेवाप्रवाहमा बाधा उत्पन्न हुन पुगको आयोगले जनाएको छ ।

कारागार तथा बालसुधारगृहबाट बाहिर निस्केका बन्दीहरुको फिर्ती तथा कारागार व्यवस्थापनमा समेत गम्भीर समस्या देखिएको उल्लेख छ ।

अतः सुरक्षाकर्मीको मनोबल उच्च बनाउँदै शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन, आगजनी र तोडफोड भएका सरकारी संरचनाहरुको पुनर्निर्माणमा विशेष ध्यान दिन आयोगले आग्रह गरेको छ ।

साथै, विकसित परिस्थितिमा सरकारले चाल्ने सुधारका कदमहरुमा सहयोग पु¥याउन सम्बद्ध सबै पक्षलाई आयोगले आग्रह गरेको छ ।

घटनामा व्यक्तिका क्षति भएका निजी सम्पत्तिहरुको आँकलन गर्न र यस प्रकारका हिंसात्मक घटना हुनाका कारणहरुको पहिचान गर्दै भविष्यमा यस प्रकारका हिंसात्मक घटना पुनः दोहोरिन नदिने वातावरण बनाउन नेपाल सरकारलाई निर्देशन गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो