INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनको आँधीले उडाएको घरपरिवार, जलेका सम्पत्ति र पीडितको जीवन

देशव्यापी भ्रष्टाचार र सुशासनको माग गर्दै सुरु भएको जेनजी आन्दोलनले कर्णाली प्रदेश पनि अछुतो रहेन । आन्दोलनको क्रममा भएका हिंसात्मक घटनाले सरकारी र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । आन्दोलनका क्रममा जीवन र मृत्युसँग अस्पतालको आइसियुमा छटपछाइ रहेका छन् सन्तोष बोहोरा ।

२६ वर्षीय सन्तोष बोहोरा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ ठौरी निवासी हुन् । आन्दोलनको क्रममा वीरेन्द्रनगर नपा–७ इत्राममा ०८२ भदौ २४ गते प्रहरीले चलाएको गोली दाहिने आँखामा लागेर उनी घाइते भए । अहिले उनको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको दुवै आँखाका नानी गुमेका छन्। अब उनी अरुको साहारा बिना बाँच्न सक्ने अवस्था छैन। उनलाई खाना खान र उठबस गर्न पनि समस्या भएको छ। परिवारका अनुसार, उनको अस्पताल भित्रको सम्पूर्ण खर्च अस्पताल प्रशासनले निःशु्ल्क गरेपनि अस्पताल भित्र नपाइने औषधि, आवश्यक रगत बाहिरबाट किनेर ल्याउदा आर्थिक समस्या झेल्नु परेको छ ।

सन्तोषको परिवारको आर्थिक अवस्था कमजोर छ । घरमा पाँच कठ्ठा जमिन र एउटा घर मात्रै छ । उनी पेशाले बेरोजगार थिए र कोरोसिया जानको लागि ३ लाख रुपियाँ मेनपावरलाई बुझाइसकेका थिए। आन्दोलनका क्रममा यस्तो घटना भएको जानकारी मेनपावरलाई गराएपछि उक्त रकम फिर्ता दिएको पत्नी निर्मललाले बताइन् ।

निर्मलाले भेटनरी पढेकी छन् तर जागिर छैन । सुशासन, भष्टाचार विरुद्धको आन्दोलनका कारण सन्तोषको अवस्था यस्तो भयो । पति, छोरी र सासु ससुराका जिम्मेवारी आफूमा आइपरेकाले सरकारले रोजगारी र घाइतेको पालनपोषणका लागि उचित व्यवस्था गरिदिन उनको माग छ ।

आन्दोलनकै क्रममा भदौ २४ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राममा दिउँसो तीन बजे प्रहरीले चलाएको गोली घाँटी र हातमा लागेर २१ वर्षीय दिलबहादुर खत्री घाइते भए । दैलेख जिल्लाको दुल्लू नगरपालिका–५ रिजु घरभई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकमा बस्दै आएका उनी कोरिया जानको लागि भाषा सिक्दै थिए । घाइते खत्रीको कर्णाली प्रदेश अस्पतालमा उपचार भई घर फर्किएका छन् । उनको उपचार अस्पतालले निःशुल्क गरेको छ ।

आन्दोलनमा भएको तोडफोड र आगजनीका घटनाहरूको अभिलेख इन्सेक कर्णाली प्रदेश कार्यालयको गरिरहेको छ । अभिलेखित घटना अनुसार आन्दोलनका क्रममा कर्णाली प्रदेशमा ३५ जना घाइते भएका छन् । घाइतेहरु मध्ये १८ जनालाई गोली लागेको छ ।

साथै, आन्दोलनका क्रममा सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, निजी घर र सवारी साधनहरूमा क्षति पुगेको छ । कर्णाली प्रदेशमा २९ ओटा सरकारी कार्यालय, २० ओटा राजनीतिक दलका पार्टी कार्यालय भवन र आठ ओटा घरमा आजगनी तथा तोडफोड गरिएको छ । साथै, १३ ओटा सरकारी गाडी, १९ ओटा मोटरसाइकल, दमकल, एम्बुलेन्स, शववाहन, डोजर, ट्याम्पु, र व्यक्तिगत गाडीहरू समेतमा आगजनी गरियो ।

आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले जनजीवन र सम्पत्तिमा व्यापक क्षति पुगेको छ । नागरिकहरूमा असुरक्षा महसुस भइरहेको छ भने, उनीहरूको दैनिक जीवन र व्यवसाय प्रभावित भएको छ । सरकार र सम्बन्धित निकायहरूले पीडित परिवारहरूको उचित राहत र उपचारको व्यवस्था गर्दै शान्ति सुरक्षा र न्यायका लागि कदम चाल्न आवश्यक रहेको छ ।

अन्य

भिडियो