INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडा, सङ्घर्ष र आशाको यात्रा

इतिहासलाई फेर्केर हेर्दा नेपालमा अनेक पीडित परिवारहरू छन्, जसले युद्ध र द्वन्द्वको प्रभाव भोगेका छन्। ती पीडितहरूको जीवनको कथा कहिल्यै उजागर हुन सकेको छैन। ती मध्ये एक हुन्, बुटवल उपमहानगरपालिका– ११ मजुवाकी सीता कक्षपति। उनी दुःख, सङ्घर्ष, अविश्वास र आशाका अनेक आयामसँग जुद्दै आइरहेकी छिन्।

सीताको जन्म प्यूठानमा भएको थियो। गाउँको प्राकृतिक सौन्दर्य र सरल जीवनशैलीले उनी सधैं आशाको उज्यालो तर्फ लम्किरहेकी थिइन। उनले सधैं सुन्ने गरेकी थिइन्, “साँचो प्रेम र विश्वासले जीवन सजिन्छ।”

२०५८ सालको वैशाख २१ गते उनको प्यूठानकै झिमरुक गाउँपालिका– ६ कुटीचौरका महेन्द्र कुमार कक्षपतिसँग मागी विवाह भएको थियो। त्यो दिन उनीहरूको जीवनको नयाँ अध्यायको शुरुवात थियो। महेन्द्र सशस्त्र प्रहरीमा कार्यरत थिए, र उनी दुवैले सधैं प्रेम र भरोसाका साथ जीवन बिताउने सपना देखेका थिए।

विवाह हुँदा महेन्द्रको उमेर २१ वर्ष र सीताको उमेर १९ वर्ष थियो। महेन्द्रले सीतालाई असाध्यै माया गर्थे। उनीहरूको जीवन सुखमय थियो। महेन्द्रको कार्यक्षेत्र विरगञ्जमा थियो। उनले पत्नी सीतालाई पनि सँगै लगेका थिए।

सपनाको संसारमा उनीहरू रमाइरहेका बेला, महेन्द्रको जीवन एउटा कठीन परिस्थितिमा पुग्यो— युद्धको हिंसात्मक र घातक क्षण।

२०६१ साल वैशाख २१ गते, बिहानको समयमा महेन्द्र गस्तीमा थिए। गस्तीमा गएर फर्किने क्रममा अचानक नेकपा (माओवादी) ले थापेको विद्युतीय धरापले उनीलाई जीवनबाट टाढा पारिदियो। शव क्षतविक्षत भएको थियो।

त्यसैदिन, साँझको ३–४ बजे खबर आयो कि महेन्द्र घाइते छन्। सीता र उनको परिवारको आशा र विश्वास छिन्नभिन्न भयो। यो खबरले उनलाई संसारको सबैभन्दा पीडादायक र दुःखद अवस्था भोग्न बाध्य बनायो।

महेन्द्रको मृत्युको खबरले सीताको जीवनलाई एकदमै कठीन बनायो। उनका आँखा भरी आँसु र हृदयमा चर्को आक्रोश भरियो। उनी भन्छिन्, “यस्तै छुट्नु रहेछ र यतिधेरै माया गर्नुहुन्थ्यो।”

विवाह गरेको तीन वर्षमै सीताको खुशी लुटियो, सिन्दुर र पोते चुरा सबै खोसिए, संसार उजाड भयो। उनलाई घरपरिवारका सदस्यहरुले दुर्व्यवहार गर्न थाले। अनि उनी घर छोड्न बाध्य भइन्।

सीताले काम गर्न थालिन्, सरकारी राहत रकम र पेन्सनबाट जीवन चलाउने कोसिस गरिन्। अहिले उनको जीवन एउटा सानो बुकुरो जस्तै हो, जसमा उनी एक्लै बसेकी छिन्। उनका आँसुहरू अझै बग्दै छन् — “सबै लुटियो तर आशा मरेको छैन।”

उनको जीवन अझ जटिल बनाउने कुरामा घरपरिवारकै सदस्यहरूले गरेको दुर्व्यवहार र छेडछाड हो। उनी भन्छिन्, “म लुगा फेर्दा ढोका खोलेर गलत व्यवहार गर्न खोजे।” यसले उनलाई निकै पीडित बनाएको छ।

सरकारले मृतक परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ प्रदान गर्‍यो। त्यसमा आधा रुपियाँ महेन्द्रको बाबुले बुझ्नुभयो। तर, सीताको पीडा अझै टुंगिएको छैन। उनी आशावादी छन् कि न्याय मिल्नेछ, तर सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरी राष्ट्रपतिबाट समेत प्रमाणिक गरिसकेको अवस्थामा पनि सरकारले उनीहरूको पीडालाई सम्बोधन गर्न सकेको छैन।

सरकारले विस्तृत शान्ति सम्झौता भएको यति लामो समय हुँदासम्म पनि न्याय दिन सकेको छैन । म जस्ता सिन्दुर पोते खोसिएका, अभिभावक गुमाएका, बेसहारा भएका धेरै पीडितहरु न्यायको पखाईमा छन् । खै न्याय ?

देशमा राजनीतिक परिवर्तन भयो, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भयो। तर, द्वन्द्व पीडितहरू र उनीहरूको पीडालाई सम्बोधन गर्न सरकार अझै असफल छ। उनी भन्छिन्, “यति लामो समयसम्म पनि न्याय नपाउँदा हाम्रो पीडा कहिल्यै मेटिन सक्दैन।”

सीता भन्छिन्, “सबै लुटियो तर आशा मरेको छैन।” उनी अझै पनि आशावादी छन् कि, न्याय र शान्ति अवश्य आउने छ। तर, यसका लागि सरकार र सरोकारवाला पक्ष, नागरिक समाजले सचेत भएर पीडित परिवारको आवाज सुन्न र सम्बोधन गर्न आवश्यक छ ।

अन्त्यमा, सीताको कथा एउटा पीडाको कथा मात्र होइन, यो हाम्रो समाजको असमानता, हिंसा, बेवास्ता र पीडितको अधिकारको खोजी हो। उनको जीवनले देखाउँछ कि, युद्ध र द्वन्द्वले पीडितको जीवनमा के कस्ता घाउ र पीडा ल्याउँछ। यसले हामीलाई सम्झाउँछ कि, न्याय र शान्तिको खोजीमा हाम्रो समाज अझै पनि धेरै टाढा छ।

हामी सबैको जिम्मेवारी हो, यस्ता पीडितहरुको आवाजमा ध्यान दिनु, उनीहरूको जीवनलाई सम्मानित बनाउने र न्याय सुनिश्चित गर्नु।

अन्य

भिडियो