INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक बागमती प्रदेश कार्यालयद्वारा स्थलगत अनुगमन

जेनजी आन्दोलनका क्रममा मकवानपुरका विभिन्न स्थानहरुमा भएका तोडफोड तथा आगजनीका घटनाहरुको इन्सेक बागमति प्रदेश कार्यालयले ०८२ भदौ ३१ र असोज १ गते स्थलगत अनुगमन गरेको छ ।

आन्दोलनकारीहरुले प्रदेश प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, हेटौडा उपमहानगरपालिका, उच्च अदालत पाटन, हेटौँडा इजलास र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हेटौँडा अस्पताल, खानेपानी तथा सरसफाई डिभिजन, डिभिजन वन कार्यालय, वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा पु¥याएको क्षतिको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले बागमती प्रदेशमा काठमाडौँ उपत्यका बाहेकका अन्य जिल्लाहरुमा भदौ ३१ गते सम्ममा २२ जना प्रहरी कर्मचारी, २४ जना सर्वसाधारण र २० जना कैदीबन्दी गरी ६६ जना घाइते भएको साथै दुई जना सर्वसाधारण र पाँच जना कैदीबन्दी गरी सात जनाको मृत्यु भएको बताउनु भयो ।

Meeting with DIG 1

उहाँले अनुगमन टोलीलाई बागमति प्रदेशमा काठमाडौँ उपत्यका बाहेकका अन्य जिल्लाहरुमा नेपाल प्रहरीले हालसम्म कुनै पनि नागरिक माथि गोलि प्रहार नगरिएको, क्षतिग्रस्त प्रहरी कार्यालयहरुको अल्पकालिन पुर्ननिर्माण कार्य सुरु भएको र उक्त प्रहरी कार्यालयहरुमा प्रहरी कर्मचारीहरु फर्कने क्रम जारी रहेको जानकारी गराउनु भयो ।
त्यस्तै राष्ट्रिय मानव अधिकार कार्यालय, हेटौडाका प्रमुख उपसचिव चन्द्र कान्त चापागाँईले आन्दोलनका क्रममा बागमती प्रदेशको चितवन र मकवानपुरमा सबैभन्दा बढी क्षति भएको साथै भदौ २४ गते राती जिल्ला अदालत र कर्मचारी सञ्चय कोषमा आगजनी र तोडफोड भएको बताउनु भयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोग, हेटौँडाको कार्यालयमा सामान्य क्षति भएको बताउदै कारागारबाट फरार कैदीबन्दीहरु फिर्ता नहुँदासम्म र राज्यको सम्पत्तीमा क्षति पु¥याएका व्यक्तिहरुलाई कानुनी दायरामा नल्याउदासम्म बागमती प्रदेशमा मानव अधिकारको अवस्था निकै जोखिमपूर्ण रहेको जानकारी गराउनु भयो ।

जिल्ला प्रशासन कार्यालय मकवानकपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला भित्र भएका क्षतिहरुको विवरण संकलनको कार्य भइरहेको र यथाशिघ्र क्षतिका विवरणहरु सार्वजनिक गरिने बताउनु भयो ।

District Administrative Office, Makawanpur

जिल्ला प्रशासन कार्यालय मकवानकपुरका प्रशासन अधिकृत गुणराज प्रसाद न्यौपानेले आन्दोलनबाट जिल्ला प्रशासन कार्यालयमा कुनै पनि क्षति नभएको, क्षतिग्रस्त स्थानहरुबाट सूचनाहरु माग गरिएको र जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु नियमित रुपमा सञ्चालन भइरहेको बताउनु भयो ।

जिल्ला अदालतका सूचना अधिकारी केशव कौशिकका अनुसार आन्दोलनकारीहरुले भदौ २४ गते जिल्ला अदालतमा रहेका तीन थान चारपाङ्ग्रे र ४६ थान दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी गरी क्षति पु¥याएको बताउनु भयो ।

उहाँले अदालतको क्षेत्रभित्र रहेका न्यायाधिश निवास, चेमेना गृह, शौचालय, लिफ्ट, फर्निचर र स्थायी सम्पत्तीहरुमा क्षति पुगेको साथै रजिष्टार, मृद्दा सुपरिवेक्षक (सुचना अधिकारी), दर्ता चलानी र मृद्दा दर्ता शाखा आगजनीका कारण पूर्णरुपमा क्षति भएको र कयौँ सरकारी सम्पत्तीहरु लुटपाट भएको जानकारी गराउनु भयो ।

आन्दोलनकारीहरूले उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा गरिएका आगजनी र तोडफोडका कारण जिल्ला सरकारी वकिल कार्यालयका दुई कोठा, एक थान चारपाङ्ग्रे र दुई थान दुई पाङ्ग्रे सवारी साधन पूर्ण रुपमा क्षति भए भने उच्च सरकारी वकिल कार्यालयमा एक कोठा, एक थान चारपाङ्ग्रे र एक थान दुई पाङ्ग्रे सवारीसाधन पूर्ण रुपमा क्षति भएको छ ।

उच्च र जिल्ला सरकारी वकिल कार्यालयका गरी तीन थान दुई पाङ्ग्रे निजी सवारीसाधन, दुई थान सरकारी दुई पाङ्ग्रे सवारीसाधन पूर्ण रुपमा क्षति भएको छ । हलुका सवारी चालक धुव्र बहादुर माझीका अनुसार उहाँको एक थान साइकल, १५ हजार रुपियाँ सहित विभिन्न कागजात सहितको वालेट, लत्ताकपडाहरु र अन्य जिन्सी सामग्रीहरु समेत प्रर्दशनकारीहरुले लुटेको बताउनु भयो ।

High Attorney Office

आन्दोलनकारीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालयको एक थान चार पाङ्ग्रे सवारी साधन र एक थान स्कुटरमा क्षति पु¥याएको, त्यस्तै बागमति प्रदेशका प्रमुख सचिवको निवास, नापी कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, लोकसेवा आयोगको भवन तथा सवारीसाधनहरुमा तोडफोड र आगजनी गरेका छन् ।
सहरी विकास मन्त्रालयको दुई थान चार पाङ्ग्रे सवारी साधन, दुई थान दुई पाङ्ग्रे सवारी साधन पूर्णरुपमा नष्ट भएको र मन्त्रालयको भवनमा समेत आगजनी र तोडफोड गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयका तीन थान चार पाङ्ग्रे सवारी साधन एक थान दुई पाङ्ग्रे सवारी साधन र मन्त्रालयको भवनमा सामान्य तोडपफोड भएको पाइयो ।

National Human Rights Commission

आर्थिक मामिला तथा योजना मन्त्रालयका सुरक्षा गार्ड विनोद तिल्मिसेनाका अनुसार तोडफोड र आगजनीका क्रममा मन्त्रालयका आठ थान कम्प्युटर, दुई थान मोटरसाइकल, एक थान स्कुटर, सचिवालयका दुई थान सिसाका टेवल, तीन थान कुर्सीहरु र झ्यालहरुमा क्षति पुगेको बताउनु भयो ।

aarthik mamila mantralaya

त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन नं १ का कार्यालय सहयोगी चेतबहादुर थापा मगरका अनुुसार आन्दोलनकारी समूहले कार्यालयको एक थान चारपाङ्ग्रे सवारी साधन, कार्यालयको तीन थान सिसाका झ्याल र मुख्य गेटमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले डिभिजन वन कार्यालयको सिसि टिभि क्यामेरा, गार्डरुम र तीन थान चार पाङ्ग्रे सवारी साधनमा तोडफोड गर्नुका साथै एक थान स्कुटर आगजनीका कारण पूर्ण रुपमा क्षति भएको कार्यालयका हलुका सवारी चालक राजेश सापकोटाले बताउनु भयो ।

Ministry of Forest and Environment

हेटौडा उपमहानगरपालिका–२ का वडाध्यक्ष विष्णु गोपाल महर्जनका अनुसार आन्दोलनकारीहरुले उपमहानगरपालिकाको वडा नं ३, ४, ११ र १९ का कार्यालहरुमा तोडफोड र आगजनी गरेका छन् भने वडा नं १, ५, १०, १५ र १८ मा समेत तोडफोड भएको छ ।

ward no 2 chairperson

उच्च अदालत पाटन, हेटौँडा इजलासका कार्यरत प्र.ह चन्द्र दिप चौधरीका अनुसार आन्दोनकारी समूहले कार्यालयका दुई थान चारपाङ्ग्रे सवारी साधन, चार थान दुई पाङ्ग्रे सवारी साधन र भवनमा तोडफोड र आगजनी गरेका छन् ।

uchcha adalat

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हेटौँडा अस्पतालका व्यवस्थापक सुरेन्द्र बडुले २० जना घाइतेहरु उपचारका लागि अस्पतालमा आएकोमा सबैलाई डिस्चार्ज भएको बताउनु भयो । घाइतेहरु सबै पुरुष भएको बताउनु भयो ।

Hetauda Hospital

त्यस्तै हेटौडा उपमहानगरपालिका पूर्णरुपमा क्षतिग्रस्त भएको र हाल सरसफाई र मर्मतसंहारको कार्य भइरहेको छ ।

आन्दोलनकारीहरुले नेकपा एमाले र नेपाली कांग्रेसका कार्यालयहरुमा समेत तोडफोड र आगजनी गरेका छन् भने भाटभटेनी सुपर मार्केटमा पूर्णरुपमा क्षति पुगेको छ । आन्दोलनका क्रममा मालपोत कार्यालयमा तोडफोड र आगजनी भएको गरिएको छ भने मुख्यमन्त्री निवास समेत सामान्य क्षति पु¥याइएको छ ।

मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता इन्द्र बानिया, पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका नेता डोरमणी पौडेल, नेकपा एकीकृत समाजवादी पार्टिका नेता विरोध खतिवडा लगायत अन्य जनप्रतिनिधिहरुको नीजि निवासमा समेत तोडफोड र आगजनी गरिएको छ ।

हाल बागमती प्रदेश सरकारका मुख्यमन्त्री सहितका शीर्ष नेताहरु र जनप्रतिनिधिहरु सम्पर्क बाहिर रहेको समेत अनुगमनका क्रममा पाइयो । अनुगमनका क्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालयमा कुनै पनि क्षति पुगेको छैन ।

अनुगमनमा टोलीमा बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेल, सहायक प्रलेख अधिकृत बरुण बस्याल, बाल कल्याण समिति हेटौँडाका अध्यक्ष तथा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडाको सहभागिता रहेको थियो ।

अन्य

भिडियो