जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १ सय ४७ ओटा सरकारी कार्यालय तथा सार्वजनिक संरचना, ३८ पार्टी कार्यालयहरु र ६८ ओटा निजी सम्पत्ति गरी २ सय ५३ संरचनामा तोडफोड तथा आगजनी गरिएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लामध्ये रोल्पा, पाल्पा, रुकुमपूर्वमा अवस्था सामान्य रह्यो । बर्दिया, बाँके, दाङ, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, गुल्मी र नवलपरासी (पश्चिम सुस्ता) जिल्लामा आन्दोलनका क्रममा भौतिक संरचना तथा सम्पत्तिमा तोडफोड र आगजनी गरी क्षति पु¥याइएको छ ।
इन्सेक दाङ प्रतिनिधि जयनारायण पुनका अनुुसार दाङमा ५० सरकारी कार्यालय सहित ७५ भौतिक संरचनामा तोडफोड तथा आगजनी गरिएको छ ।
जिल्लामा ५० सरकारी कार्यालय, १० ओटा राजनीति दलका कार्यालय, पाँच ओटा सार्वजनिक तथा व्यावसायिक भवन तथा फर्म र १० ओटा जनप्रतिनिधि तथा दलका नेताका निवासमा तोडफोड र आगजनी गरिएको छ । घोराहीमा सबैभन्दा धेरै ४५, तुलसीपुरमा २४ र लमहीमा सात रहेका छन्।
आन्दोलनकारीले जनतासँग प्रत्यक्ष जोडिएका कार्यालयहरु घोराहीमा जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, घोराही उपमहानगरपालिका, घोराहीका ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १७ र १८ नं. वडा कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, भूमि आयोग, नगरविकास, शिक्षा समन्वय इकाइ, खानेपानी डिभिजन, घरेलु, सडक डिभिजन, पूर्वाधार विकास, जिल्ला निर्वाचन, जिल्ला समन्वय समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालय, जिल्ला हुलाका कार्यालयमा आन्दोलनकारीहरुले तोडफोड, आगजनी गरेर क्षति पु¥याएका छन् ।
त्यसैगरी तुलसीपुर क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका, ८, १६ र १८ नम्वर वडा कार्यालय, मालपोत कार्यालय, उच्च अदालत, उच्च सरकारी वकिलन कार्यालय, नापी, लोकसेवा आयोग, इलाका प्रशासन कार्यालय, आन्तरिक राजश्व, यातायात व्यवस्था कार्यालय, आयल निगम, नगर विकास, सिञ्चाइ कार्यालय र भूसंरक्षण कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । यस्तै लमहीमा लमही नगरपालिका तथा वडा नं. ५ को कार्यालय र प्रदेश मन्त्री निवासमा पनि तोडफोड र आगजनी गरिएको छ ।
यस्तै घोराहीमा सार्वजनिक सभाहल र तुलसीपुरमा उपमहानगरपालिकाले निर्माण गरेको वहुउद्देश्यीय व्यापारिक टावरमा पनि तोडफोड गरेर क्षति पु¥याइएको छ । त्यस्तै घोराहीमा सामाजिक संस्था जेसीज भवन, होटेल मालाइनमा पनि तोडफोड र आगजनी गरिएको छ । जेनजीहरुले देशमा भ्रष्टाचारलाई बढावा दिन भूमिका खेलेको भन्दै राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । उनीहरुले घोराही, लमही र तुलसीपुरमा नेकपा एमालेका तीन, नेपाली काँग्रेसका तीन र नेकपा माओवादी केन्द्रका तीन र राप्रपाको एक गरी १० ओटा पार्टी कार्यालयमा आगजनी गरेका छन् । यस्तै जनप्रतिनिधि र पार्टी नेताका घर पनि आन्दोलनकारीले आगजनी गरेका छन् ।
उनीहरुले नेकपा एमालेका महासचिव शंकर पोख्रेलको विजौरीस्थित घर, एमाले केन्द्रीय सदस्य कोमल वलीको तुलसीपुरस्थित घर, एमाले नेता हिराचन्द्र केसीको तुलसीपुरस्थित घर, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको घोराही पनौरास्थित घर, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको तुलसीपुरस्थित घर, लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको घोराहीस्थित घर, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको घर र उपमेयर हुमाकुमारी डिसीको घरमा तोडफोड र आगजनी गरेका छन् । प्रहरीले मुचुल्का तयार गरेपछि कति क्षति भयो भन्ने एकिन विवरण आउने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । ‘सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, सामाजिक संघ संस्थाका कार्यालयमा क्षति पुगेको देखिन्छ, सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले भन्नुभयो,–‘ हामीले सबै ठाउँबाट विवरण माग गरेका छौं । छिटै विवरण आउला ।’
क्षतिको विवरण त आउँदै गर्ला जनतासँग प्रत्यक्ष जोडिएका कार्यालयमा आगजनी र तोडफोड गरिएपछि नागरिकले पाउने सेवा भने अनिश्चित भएको छ । दैनिक कामकाजसँग जोडिएको स्थानीय सरकारका भवन, कम्युटर, इन्टरनेट सेवा, महत्वपूर्ण तथ्याङकसहितका फाइलहरु आगलागीले नष्ट भएपछि स्थानीय सरकारले तत्काल जनतालाई सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् । उपमहानगरपालिका र वडा कार्यालयमात्रै होइन अदालत, मालपोत, नापी, सरकारी वकिलजस्ता महत्वपूर्ण कार्यालयमा पनि तोडफोड, आगजनी र महत्वपूर्ण फाइलहरु जलेर नष्ट भएपछि तत्काल सेवा दिनसक्ने अवस्थामा छैनन् । ‘भवन जलेर नष्ट छ, सिसा, फर्निचर फूटेर बस्ने ठाउँ छैन, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले भन्नुभयो,–‘यो घटनाले अब सरकारी कार्यालयलाई घर भाडामा दिने अवस्था पनि छैन, कहाँ बसेर सेवा दिने ?’ उहाँले भवनको व्यवस्थापन गर्न सके सेवा दिन छिटोमा एक महिना लाग्ने बताउनुभयो ।
इन्सेक बाँके प्रतिनिधि ध्रुबराज शर्माका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४७ सरकारी कार्यालय तथा सार्वजनिक स्थल, पाँच पार्टी कार्यालयहरु, एक संस्था, चार निजी सम्पत्ति, फर्निचर, सवारी साधनमा तोडफोड र आगजनी गरिएको छ ।
इन्सेक बर्दिया प्रतिनिधि प्रकाश पौडेलका अनुसार आन्दोलनमा क्रममा गुलरिया नगरपालिका कार्यालय, गणेशमान सिंहको शालिक, नेकपा (एमाले)को पार्टी कार्यालय, नेपाली काँगे्रसको पार्टी कार्यालय, प्रदेश सांसद सञ्जय गौतमको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।
इन्सेक रुपन्देही प्रतिनिधि रीमा बीसीका अनुसार आन्दोलनकारीहरूले जिल्लाका १९ सरकारी कार्यालय, चार ओटा पार्टी कार्यालय र १५ जना व्यक्तिहरुको निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका छन् ।
इन्सेक नवलपरासी (सुस्ता पश्चिम) प्रतिनिधि नारायण पराजुलीका अनुसार आन्दोलनकारीहरुले १८ ओटा सरकारी कार्यालय तथा सार्वजनिक स्थल, चार ओटा पार्टीका कार्यालयहरु र २१ ओटा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका छन् ।
इन्सेक कपिलबस्तु प्रतिनिधि रीमा बीसीका अनुसार प्रदर्शनकारीहरूले ६ ओटा सरकारी कार्यालयहरु, तीन पार्टीका कार्यालयहरु, नौ जनाको निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरेका छन् । उनीहरूले भुमि सुधार, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला अदालत, जिल्ला कारागार, वाणगंगा नगरपालिकाको कार्यालय तोडफोड र आगजनी गरी क्षति पु¥याएका छन् ।
इन्सेक अर्घाखाँची प्रतिनिधि कुलबहादुर नेपालीका अनुसार आन्दोलनकारीहरूले चार ओटा सरकारी कार्यालय, चार ओटा राजनीतिक दलका पार्टी कार्यालय, एक ओटा निजी भवनमा तोडफोड र आगजनी गरेका छन् । उनीहरूले जिल्ला समन्वय समितिको कार्यालय, सन्धीखर्क नगरपालिकाको कार्यालय, १ नं वडा कार्यालय सन्धीखर्क नगरपालिका, २ नं वडा कार्यालय सन्धीखर्क नगरपालिका, नेपाली कांगे्रसको पार्टी कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय, नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, जनमोर्चाको पार्टी कार्यालय र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा तोडफोड र आगजनी गरी क्षति पु¥याएका छन् ।
इन्सेक प्यूठान प्रतिनिधी रविन्द्र पाण्डेका अनुसार प्रदर्शनकारीहरूले प्यूठान नगरपालिका कार्यालय, नेकपा (एमाले) को पार्टी कार्यालय, नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, नेपाली काँग्रेसको पार्टी कार्यालय र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
इन्सेक गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार प्रदर्शनकारीहरूले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरुमा तोडफोड गरेका छन् ।



