INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तु जिल्लाका सबै सरकारी कार्यालयको सेवाप्रवाह सुचारु

जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिमा जिल्लाका सरकारी कार्यालयबाट रोकिएका सेवा पुनः सुचारु भएको छ । जिल्लाका सबै सरकारी कार्यालयले सेवाप्रवाह पूर्ण रुपमा सञ्चालन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालयलाई कार्यालयको सेवा सुचारु गर्न दिएको निर्देशन अनुसार कपिलवस्तुका अधिकांश कार्यालयहरु भदौ २९ गतेदेख पूर्ण रूपमा सेवा सुचारु गरिएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, इलाका प्रशासन कार्यालयहरूबाट दिइँदै आएको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र सहितको सम्पूर्ण सेवा सहित जिल्लाका सबै सरकारी कार्यालयहरूले सेवा सञ्चालनमा ल्याएको बताउनु भयो ।

यसअघि भन्सार कार्यालयहरूले भने नियमित सेवा प्रवाह गर्दै आएका थिए । यसै बिच जिल्ला समन्वय समिति कपिलवस्तुको अगुवाईमा जिल्लाका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयबाट सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयमा पालिका प्रमुखहरू बीच छलफल गरिएको छ ।

छलफलका क्रममा सुरक्षा निकायले शान्ति सुरक्षाको व्यवस्थापन गर्ने र स्थानीय तहले सेवा प्रवाहलाई सुचारु बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनुभयो ।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लाका सबै स्थानीय तहलाई नियमित सेवा सञ्चालन गर्न पत्राचार गर्नुभएको छ ।

समन्वय समितिबाट गरिएको पत्राचारमा “हालै देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण त्यहाँबाट प्रवाह भइरहेको नियमित सेवा अवरुद्ध भएकोमा हाल देशको परिस्थिति सामान्य बन्दै गएकाले त्यहाँ पालिका र अन्तर्गतका कार्यालयहरूबाट प्रवाह हुने सेवा नियमित रूपमा सञ्चालन गर्न गराउन अनुरोध छ,” पत्रमा उल्लेख गरिएको छ ।

अन्य

भिडियो