जेनजी आन्दोलनको चपेटामा परेका रुपन्देहीका विभिन्न कार्यालयहरु सुचारु भएका छन् । जेनजीले गरेको आन्दोलन पश्चात् रोकिएको सरकारी कार्यालयका सेवा प्रवाह भदौ २९ गतेबाट सुचारु भएको हो । सुरक्षित कार्यालयहरुबाट पूर्ण नियमित सेवाहरु र क्षतिग्रस्त कार्यालयहरुबाट आंशिक रुपमा सेवा प्रवाह भइरहेको छ ।
भैरहवाको आन्तारिक राजस्व कार्यालय, भैरहवा भन्सार कार्यालय लगायतका धेरै क्षति भएका कार्यालयले कार्यालय परिसरबाट आंशिक सेवा सुरु गरेका छन् । बन्द भएको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक वस्तुको आयात र निर्यात भदौ २६ गते बाटै सुरु गरेको थियो ।
तोडफोड र आगजनीका कारण ठप्प भएको भन्सार कार्यालयको सेवा जे जस्तो अवस्थामा भए पनि आयात निर्यात प्रभावित गर्नु हुँदैन भन्ने उद्देश्यले बाहिर टेन्ट टाँगेर भए पनि सेवा प्रदान गर्दै आएको छ । प्रदर्शनकारीले कार्यालयमा क्षति पु¥याए पनि त्यसको वैकल्पिक व्यवस्था गरी आगजनीबाट ध्वस्त भएका संरचनाका बाबजुद पनि अत्यावश्यक सामग्रीहरू निर्यात आयात गरिरहेको भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले बताउनुभयो ।
भन्सार कार्यालय अगाडि टेन्ट टाँगेर ल्यापटपबाट सेवा दिइरहेको छ । डिजिटल सिस्टममा अवरोध भएपछि म्यानुअल भए पनि भन्सार जाँचपासको काम भइरहेको प्रमुख न्यौपानेले बताउनुभयो ।
आन्दोलनको क्रममा जिल्लाका अधिकांश सरकारी कार्यालय र गैरसरकारी, नीजि क्षेत्रमा क्षति भएको छ । सबै क्षेत्रको लगत सङ्कलनको काम सुरु भएको छ । केही सरकारी कार्यालय जलाइएको छ भने तोडफोड पनि भएका छन् । क्षति भएका कार्यालयहरुमा परिसरमा अस्थायी रुपमा टेबल, कम्प्युटर राखेर सेवा प्रवाह गरिएको छ । त्यस्ता कार्यालयमा आएको सेवाग्राहीको निवदेन लिने, सेवाबारे जानकारी दिने, दर्ता गर्ने नाम र नम्बर सङ्कलन गरेर सेवाको सूचना दिने गरी व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले सम्पूर्ण घटनाको मुचुल्का र लगत तयार गर्नुपर्ने भएको कारणले क्षतिको पूर्ण विवरण भदौ ३० गते साँझसम्म मात्रै आउने र क्षतिको विवरणबारे चासो राख्दै सेवा प्रवाहलाई रोक्न नहुने गरी काम गर्न र नम्र भएर सेवा प्रवाह गर्न सबैलाई अनुरोध गरेको बताउनुभयो ।
यसै क्रममा प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा आन्दोलनकारीले पुर्याएको क्षति र कार्यालयको अवस्थाबारे बुझ्न स्थलगत निरीक्षण गरेको बताउनुभयो । उहाँले नगरप्रहरी र कर्मचारीहरुको कामको प्रशंसा गर्दै कार्यालय जोगाउने कार्यमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई नगरपालिकाले पुरस्कृत गर्न समेत आग्रह गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले गाडीहरु पहिलै नै कार्यालय भन्दा बाहिर राखेकोले सुरक्षित गर्न सफल भएको बताउनुभयो । उहाँले प्रदर्शनकारीहरुले कार्यालयको गेट तोड्न नसकेकोले ठूलो क्षतिबाट सिद्धार्थनगर बचेको बताउनुभयो । कार्यालय परिसरमा भएको केही फर्निचर, बाहिरका केही कागजपत्र र बोर्डहरुमा क्षति पुगेको, कार्यालयका सिसाहरु फुटाए पनि ठूलो क्षतिबाट बचेको बताउनुभयो ।