जेनजी आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने समूहका व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ ।
ललितपुर महानगरपालिका कोपुण्डोलस्थित हनुमानस्थानमा रहेको प्रहरी चौकीमा ०८२ भदौ २४ गते तोडफोड र आगजनी गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा निवासी २४ वर्षीया सृष्टी तामाङ र बैतडी जिल्ला मलौली नगरपालिका– ९ घर भई ललितपुर महानगरपालिका–१० कोपुण्डोल निवासी २४ वर्षीय धीरेन्द्र चन्द रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उनीहरूले प्रहरी चौकी तोडफोड र अगजनी गरी त्यहाँ रहेका प्रहरी पोशाक, हतियार र खाद्यान्नका सामान लुटेको प्रहरीले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा त्यसका दृश्यहरुको अध्ययनपछि उनीहरूलाई गिरफ्तार गरिएको एसएसपी अधिकारीले बताउनु भयो ।
त्यसैगरी जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिका–११ मा रहेको एक घरमा पसेर ५ लाख ७६ हजार ४ सय रुपियाँ बराबरका सामान लुटपाट गरी आगजनी गर्ने चार जनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
सिसिटिभी फुटेजका आधारमा गिरफ्तार गरिएकाहरुमा भारतीय नागरिक १८ वर्षीय सेराज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराका २१ वर्षीय साहाजात मिया र काभ्रेका २५ वर्षीय फुर्साङ लामा भएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको हतियारसहित गोदावरी नगरपालिका–१४ ठैबका २४ वर्षीय दिपक राईलाई प्रहरीले गिरफ्तार गरेको छ । उनको साथबाट दुई वटा पेस्तोल र केही गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरी प्रभाग इमाडोलमा तोडफोड र आगजनी गर्ने ६ जनालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । तीन जना महालक्ष्मी नगरपालिका–८ लुभुबाट र तीन जना साेही नगरपालिका–४ इमाडोलबाट गिरफ्तार गरिएको प्रहरीको भनाइ छ ।
गिरफ्तार गरिएकाहरुमा २० वर्षीय राजकुमार तामाङ, २२ वर्षीय गोकर्ण राई, २० वर्षीय कृष्णराज गिरी, ३१ वर्षीय सुनिलकुमार बस्नेत, २२ वर्षीय सरोज नेपाली र २१ वर्षीय नरेश तामाङ रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीको बुट, तिलहरी, झुम्का, मंगलसुत्र लगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।