INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन महिनादेखि स्वास्थ्य संस्थामा औषधी अभाव

सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा तीन महिनादेखि औषधीको अभाव देखिएको छ । छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँका नवराज सिंहले स्वास्थ्य चौकीबाट औषधी नपाएको गुनासो गर्नुभयो ।

उहाँले १५ दिनदेखि औषधी सेवन गर्न छुटेको बताउँदै स्वास्थ्य संस्थामा समस्या आइरहेको बताउनु भयो । दैनिक एक पटक स्वास्थ्य चौकी पुगेर औषधी आए–नआएको बुझ्न जाने गरेको भए पनि नआएको जवाफ मात्र आउने गरेको उहाँले बताउनु भयो । ०८२ असारदेखि स्वास्थ्य चौकीमा औषधीको अभाव भइरहेको सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहोराले बताउनु भयो ।

उहाँले एकातिर स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध हुने व्यवस्था भए पनि आफ्नो स्वास्थ्य चौकीमा ३५ देखि ४० प्रकारका औषधी मात्र आउने गरेको र बाँकी औषधी बिरामीले अन्तबाट व्यवस्था गर्नुपर्ने अवस्था रहेको स्वीकार गर्नुभयो । हाल स्वास्थ्य चौकीमा बुफिन, एसी लग, डिपो लगायत परिवार नियोजनका अन्य औषधीको अभाव रहेको छ ।

त्यस्तै ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले दुई महिनादेखि औषधी अभाव भइरहेको बताउनु भयो । औषधी नभएपछि बिरामी उपचारका लागि आएपनि रित्तो हात फर्काउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । आइरन चक्की, जिउ दुख्ने, सिटिजेट, छाला चिलाउने लगायतका रोगको औषधी स्वास्थ्य चौकीमा छैन । उहाँले प्रत्येक दुई महिनामा गर्नुपर्ने अल्ट्रासाउन्ड पनि नभएको बताउँदै यो व्यवस्था गाउँपालिकाले नगरेको बताउनु भयो ।

गाउँपालिकामा चार ओटा स्वास्थ्य चौकी, तीन ओटा सामुदायिक स्वास्थ्य एकाइ र पाँच ओटा आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र छन् । यी मध्ये स्याँडा र चौगानफया आधारभूत सामुदायिक स्वास्थ्य केन्द्रमा आधार विकास नेपालले, बरगाउँ स्वास्थ्य चौकीमा नेपाल ट्रस्टले औषधी सहयोग गर्ने भएका कारण अभाव कम भएपनि अन्य नौ ओटा स्वास्थ्य संस्थामा भने औषधी अभाव देखिएको छ ।

गाउँपालिकाले यस आर्थिक वर्षका लागि नयाँ औषधीको व्यवस्था नगर्दा स्वास्थ्य संस्थामा अभाव देखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर भण्डारीले बताउनु भयो ।

अन्य

भिडियो