इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले सेती अञ्चल अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको ठहर गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रूपमा रहेको सेती अञ्चल अस्पतालको मङ्सिर २६ गते संयुक्त अनुगमन गर्दै सेवाग्राहीले प्रभावकारी सेवा पाउन नसकेको जनाएको छ ।
सेवाग्राहीले अस्पतालमा गुण्स्तरिय सेवा नपाएको भन्दै विभिन्न मिडियामा सामाचार आएपछि नागरिकको स्वास्थ्य अधिकारलाई मध्यनजर गरी अस्पतालको अवस्था तथा वास्तविकता बुझ्न अनुगमन कार्य गरेको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका निर्देशक झङ्कर रावलले बताए ।
उनले अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा प्रदेशको ठूलो जनसङ्ख्या उपचारका लागि प्रदेश बाहिर व भारतमा जाने गरेको बताउँदै संविधान प्रदत्त अधिकारबाट समेत प्रदेश बासिन्दाले वञ्चित हुनु परेको बताए ।
इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नभेटिएकाले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सवै सरोकारवालाले स्तरोन्नतिमा चासो दिनुपर्नेे बताउँदै यस अस्पताललाई व्यवस्थित र सेवासुविधा सम्पन्न बनाउन सके सुदूरपश्चिम प्रदेशबासीले उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था नआउने बताए ।
अनुगमनका क्रममा अस्पतालमा सुत्केरी हुन आएकी महेन्द्रनगर नपा–९ की शोभा उप्रेतीले प्रसूति वार्डमा बेड नपाएपछि सुत्केरी व्यथा लागेपनि बाहिर बेञ्चमा बस्नु परेको बताइन् ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले देखिएका समस्या समाधानका लागि कतैबाट पहल नभएर सेवा प्रवाहमा समस्या आइरहेको बताए ।
उनले अस्पतालमा १२ जना विशेषज्ञ डाक्टरको र ३२ जना नर्सको दरबन्दी रिक्त रहेको बताउँदै जनशक्तिको अभावमा र आधुनिक मेसिन तथा उपकरणको अभावमा पनि आफूहरूले सेवा प्रदान गर्दै आएको बताए ।
उनले अस्पतालको ५० वेडको मात्रै सरकारी क्षमता भएतापनि बिरामीको चापलाई मध्यनजर गरी अस्पतालले १ सय २५ वेड सञ्चाल गर्दै आएको बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ६ वटा वेडमा १ जना नर्स हुनुपर्ने भन्ने मापदण्ड तोकेको भएपनि सेती अस्पतालमा एक नर्सले २४ वेड एक्लै हेर्नुपर्ने भएकोले पनि प्रभावकारी सेवा प्रदान गर्न नसकेको बताए ।