INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारका लागि सबै क्षेत्र क्रियाशील हुन आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले उपलब्ध स्रोत साधनको व्यवस्था गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सबै क्षेत्र क्रियाशील हुन आवश्यक रहेको बताएकी छन् ।

७० औँ विश्व मानव अधिकार दिवस मनाउन लागिएका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चिता गरेकाले मानव अधिकारको कार्यान्वयनका लागि विभिन्न निकायको व्यवस्था भएको उल्लेख गरेकी छन् ।

विश्वमानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा उनले आफ्नो सन्देश भनेकी छन्-“ती निकायका सक्रिय कार्य सम्पादनबाट मानव अधिकारको प्रत्याभूतिको आभास सबैले गर्ने छन् भन्ने मलाई लाग्छ । त्यसैले मानव अधिकारका सिद्धान्त सर्वव्यापी भए तापनि तिनको कार्यान्वयन राज्यका सिमानाभित्र नै हुन्छन् ।”

“सबल, सक्षम र राष्ट्रिय एकता सुदृढ भएको लोकतान्त्रिक राष्ट्रमा नै मानव अधिकारको प्रत्याभूति हुन सक्छ भन्नेमा पनि हाम्रो ध्यान जान आवश्यक छ ।”-राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

उनले मानव अधिकारको सिद्धान्तलाई आम जनतासमक्ष पुर्‍याउन हाम्रो शिक्षा प्रणालीमा मानव अधिकार शिक्षा समावेश गर्नेतर्फ सम्बन्धित निकायलाई आग्रह गरेकी छन् ।

अन्य

भिडियो