INSEC Online

📅 २०८३ जेष्ठ २१

कृष्णनगरका अधिकांश होटलमा बालश्रमिक, जोखिमपूर्ण काम गर्न बाध्य 

१६ दिने लैङ्गिक हिंसाविरूद्धको अभियान अन्तर्गत इन्सेक प्रतिनिधि र शान्ति पुनस्थापना केन्द्रको पहल तथा इलाका प्रशासन कार्यालय चन्द्रौटाको अगुवाइमा मङ्सिर २० गते गरिएको अनुगमको क्रममा कृष्णनगरका अधिकांश होटलहरूमा १४ वर्ष मुनिका बालबालिका श्रमिकको रूपमा प्रयोग गरिएको पाइएको छ ।

कृष्णनगर नगरपालिकाका १२ ओटा होटलमा अनुगमन गर्दा ८ जना बालश्रमिक पाइएको हो । टोलीले उनीहरूको सम्पुर्ण विवरण लिनुको साथै १५ दिन भित्र होटल सञ्चालकहरूले बालबालिकाका बाबुआमालाई बोलाई इलाका प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जगदिश अर्यालले जानकारी दिए ।

अनुगमनको क्रममा होटल दर्ता, सरसफाई, मूल्य सूची रहेनरहेको समेत अनुगमन गरी सुझाव सहित सात दिन भित्र सुधार गर्न निर्देशन दिएको अर्यालले बताए ।

अनुगमन गरेमध्ये राप्ती होटल, लुम्बिनी होटल, सम्झना होटल, स्वागतम् होटल, होटल गुल्मेली, लेकबेंशी होटल, श्रीकृष्ण होटललगायतमा १४ वर्ष मुनिका बालबालिका रहेको पाइएको होटल व्यवसायी सङ्घका अध्यक्ष गोपालबहादुर केसीले जानकारी दिए ।

बाल अधिकारसम्बन्धी कानुनमा १४ वर्ष भन्दा मुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाइने उल्लेख गरेपनि कतिपयलाई आफ्नै बावु आमाले काममा लगाइ दिएका छन् भने कतिपय बावु आमा नभएका र आमाले वा बावुले अर्को विवहा गरेकोले बाध्य भएर होटलमा बालश्रमिक बनेको पीडितहरूले बताएका छन् ।

बिहान ५ बजेदेखि राति १० बजेसम्म काम गर्नु पर्ने तथा मासिक १ हजार ५ सय देखि ४ हजार रुपियाँसम्म तलव पाउने गरेको उनीहरूको भनाई छ ।

इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा होटलहरूमा  १४ वर्ष भन्दा कम उमेरका बालश्रमिक रहेको विषय प्रतिवेदनमा उल्लेख गरेको थियो ।

सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका अधिकारीलाई समेत बालश्रमिकको उद्धारका लागि पहल गर्नसमेत आग्रह गरिएको थियो ।

अन्य

भिडियो