INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार, यौनजन्य घटना अब निरन्तर सुनवाइः महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गम्भीर प्रकृतिका अपराधलाई चाँडै टुङोमा पुर्‍याउन निरन्तर सुनवाइ प्रक्रिया योजना अघि सारिएको बताएका छन् ।

Photo20181129Udaypur

उदयपुरको गाईघाटमा मङ्सिर १३ गते आयोजित कार्यक्रममा उनले बलात्कार, यौनजन्य हिंसा, अपहरण जस्ता अपराधका घटनालाई चाँडै निष्कर्षमा पुर्‍याउन अदालतमा निरन्तर सुनवाइ प्रक्रिया योजना ल्याउने तयारी भइरहेको बताए ।

देशभर बलात्कार, यौनजन्य हिंसा र अपहरण जस्ता घटना बढिरहेको बेला यस्ता घटनालाई निस्तेज बनाउनका लागि यो योजना अघि सारिएको उनको भनाई छ ।

मुद्दाको प्रक्रिया लम्बिँदा पीडितले थप पीडा भोग्नु परेको बताउँदै उनले भने-‘मुद्दा चलिरहेको बिचको समयमा हुने चलखेल र पीडितमाथि थप हुने हिंसालाई न्यूनीकरण गर्न यो विधि उपर्युक्त हुनेछ ।’

घटनासँग असबन्धित व्यक्तिको चलखेल, पीडितलाई होस्टाइल गर्न दबाब दिने, आर्थिक चलखेल गर्ने र पीडितलाई समाजमा बस्न नदिने वातावरण तयार भइरहेकाले त्यस्ता मुद्दालाई तत्काल निष्र्कषमा पुर्‍याउन निरन्तर सुनवाइ गर्दै अदालती प्रक्रिया प्रमाण, साक्षी बुझ्ने जस्ता काम कारवाही तत्काल अवलम्बन गरिने उनले बताए ।

खरेलले ५५ वर्षअघिको फौजदारी कानुनलाई प्रतिस्थापन गर्दै नयाँ कानुन कार्यान्वयनमा ल्याएको भन्दै फौजदारी कानुनमा ठुलो आधुनिकीकरण भएको बताए ।

उनले न्याय जनताको सन्तुष्टिका लागि भएकाले कागजमा सीमित नहुने गरी कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरे ।

अन्य

भिडियो