INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचार अभावमा दुई वर्षदेखि डोरीमा !

मिक्लाजुङ गाउँपालिका–५ का पाँच वर्षीय बालक मित्रहाङ लिम्बू विगत दुई वर्षदेखि डोरीले बाँधेर राखिएका छन् ।

उचित अभिभावको अभाव र मानसिक अवस्था सन्तुलनमा नभएकाले उनी डोरीमा बाँधिएर कष्टकर जीवन गुजार्न बाध्य भएका हुन् ।

बुवा आशिकराज सम्बाहाम्फे चार वर्षयता वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा छन् । बालककी आमा शिला चेम्जोङले दुई वर्षअघि अर्को विवाह गरी अन्यत्रै गएकाले अभिभावकको अभाव भएको स्थानीय पत्रकार भकेन्द्र लावतीले बताए ।

photo20181127panchthar

बालकको अवस्था ठीक नभएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले बाँधेर राख्न बाध्य भएको हजुरआमा थिथुुङमा सम्बाहाम्फेले बताइन् ।

“बच्चाको आमा विवाह गरेर गएपछि हेर्ने मान्छे छैनन् । आर्थिक अवस्था कमजोर भएकाले काममा जानुपर्छ ।”–हजुरआमाले भनिन्–“छाडी राख्दा जताततै जाने भएकाले बाँधेर राख्नु हाम्रो बाध्यता भएको छ ।”

अढाई वर्षअघि आगोले डढेपछि बालकले मानसिक सन्तुलन गुमाएको बालकका हजुरबुवा भुवनसिङ सम्बाहाम्फेले बताए ।

घटनाको विषयमा आफूलाई जानकारी नभएको र अब उद्घारका लागि पहल गर्ने सो गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताए । प्रमुख जिल्ला अधिकारी एवम् बाल कल्याण समितिका संयोजक प्रकाशचन्द्र अधिकारीले सत्यतथ्य बुझ्न इलाका प्रशासनलाई जानकारी गराएको बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले स्थानीय प्रशासनबाट घटनाको जानकारी आएकाले सोको बारेमा बुझ्न मातहतको निकायलाई परिपत्र गरिएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का मानव अधिकार अधिकृत सन्तोष आचार्यले अहिलेको अवस्थामा समेत बालकलाई बाँधेर राख्नु अमानवीय कार्य भएको भन्दै उपचारको सुविधा पाउनु पर्ने र यसका लागि आफूले पहल गर्ने बताए ।

अन्य

भिडियो