छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै अनसन बसेकी गोरखा फुजेल-७ की गङ्गामाया अधिकारीले अपराधी समाउन प्रधानमन्त्रीलाई किन गाह्रो परेको भन्दै प्रश्न गरेकी छन् ।
पति नन्दप्रसादको निधन भएको दोश्रो वाषिर्कीमा असोज ६ गते आयोजित दीप प्रज्वलन कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै गङ्गामायाले अनसन बसेको ६ वर्षबितिसक्दासमेत अपराधीलाई कारबाही नगरिएकोप्रति दुखः व्यक्त गर्दे के-कति कारणले सरकारले अपराधीलाई गिरफ्तार गर्न नसकेको हो ? भन्दै प्रश्न गरेकी हुन् ।

उनले ६ वर्षमा आधा दर्जन भन्दा बढी प्रधानमन्त्री फेरिए तर कसैले पनि अपराधिलाई समाउने प्रयास नगरेको गुनासो गरिन् । न्याय माग्दै अनसन बसेको ६ वर्षसम्म सरकारले पटक-पटक झुक्याएको र न्यायको साटो थप पीडा दिएको भन्दै गङ्गामायाले पतिको मृत्यु पछि पनि आफू न्यायको पखाईमा रहेको बताइन् । उनले भनिन्-‘मलाई किन यसरी तड्पाउँछौ ? कि न्याय देउ, नत्र भुतुक्कै मर्न देउ ।’
तत्कालीन माओवादी कार्यकर्ताले ०६१ साल जेठ २४ गते अपहरण पछि हत्या गरेका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई सम्झँदै गङ्गामायाले भनिन्-‘म केका लागि यो दीप सल्काउँ ? न्यायका लागि सल्काउँ या राष्ट्रका लागि ? मैले त न्याय नपाएको १३ वर्षभईसक्यो । प्रधानमन्त्री ज्यू, अपराधि समाउन तपाईले के गाह्रो पर्यो ?’
दीप प्रज्वलन कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य मानव अधिकारकर्मी कपिल श्रेष्ठले गङ्गामाया न्यायको पात्र भएको उल्लेख गर्दै नन्दप्रसाद अधिकारी स्वर्गीय नभएर न्यायको लडाईमा जीवन आहुति गर्ने सहीद भएको बताए ।

उनले न्याय अवश्य प्राप्त हुने भन्दै मानव अधिकार समुदाय गङ्गामायाले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको र मानव अधिकारको हनन् गर्ने र हत्यामा संलग्न हुनेलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नमिल्ने बताए ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले न्यायका लागि सत्याग्रह गर्दागर्दै मृत्युवरण गरेका नन्दप्रसादले न्यायलाई भने मर्न नदिएको बताए । उनले भने-‘वहाँले हामीलाई आशा र भरोसाको सन्देश दिएर जानुभएको छ । यो सन्देशलाई तपाई हामीले आफ्नो कर्तव्य सम्झेर पूरा गर्नुपर्छ ।’
अधिकारकर्मी चरण प्रर्साईले नन्दप्रसाद र गङ्गामायाले न्याय प्राप्तिको लागि गरेको सङ्घर्ष र सङ्कल्प प्रेरणादायी रहेको बताए । ‘न्याय माग्दा माग्दै नन्दप्रसादले मृत्युवरण गर्नुले यस मुलुकको न्यायको मृत्यु भएको छ ।’-उनले भने । अधिकारकर्मी प्रर्साईले नन्दप्रसाद अधिकारीले सुरूवात गरेको न्याय लडाईको अभियानलाई निष्कर्षमा पुर्याउन गङ्गामायाको साथमा सिङ्गो मानव अधिकार समुदाय र नेपाली नागरिक रहेको बताए । उनले कृष्णप्रसाद अधिकारी हत्याको विषयमा असोज ९ गते गर्ने भनेको सुनुवाइले पीडितको आशा अझै बाँकी रहेको बताए ।
दीप प्रज्वलन कार्यक्रममा अधिकारकर्मी, पत्रकार, द्वन्द्वपीडितलगायत सर्वसाधारणसमेतको सहभागिता रहेको थियो ।

दुई वर्षअघि मृत्युवरण गरेका नन्दप्रसाद अधिकारीको शव अहिले पनि त्रिविवि शिक्षण अस्पतालको बाकस नं ४ मा रहेको बताइएको छ । न्याय नपाएसम्म पतिको दाहसंस्कार नगर्ने गङ्गामायाको अडान छ ।
