सिमकोट गाउँपालिका–७ की ४० वर्षीया बाँचा सुनार नेपालीलाई कथित तल्लो जातको भन्दै धम्की दिएको घटनाको आरोपमा सोही ठाउँका ५४ वर्षीय बलि सुनार र २५ वर्षीय जैमल सुनारविरूद्ध पीडित पक्षले दिएको उजुरी मङ्सिर ६ गते जिल्ला अदालतमा दर्ता भएको छ ।
पीडितलाई आरोपित पक्षले कात्तिक २१ गते ‘तँ दमाई जातकी महिला’ हाम्रो उपल्लो सुनार जातसँग विवाह गर्ने तैँले छोएको पानी हाम्रो समाजमा चल्दैन, तेरो परिवार हाम्रो गाउँ छोडेर गइहाल यहाँ नबस् भन्दै धम्की दिएको पीडितले बताइन् ।
पीडितले भनिन्–‘म तिहारको टीका लगाउन आफ्नो घरमा रहेको समयमा त तल्लो जातकी महिलाले हामी माथिल्लो जातको मानिससँग टिका टालो गर्न पाउँदिनस् तँ दमाइ जातकी महिला होस् हामी सुनार जातका मानिससँग तेरो पानी चल्दैन तँ हाम्रो घर भित्र नपस् भन्दै टिका पनि लगाउन दिएनन् ।’
पीडितले जिल्ला अदालतमा कात्तिक २५ गते उजुरी दिएको भएपनि आरोपितविरूद्ध मङ्सिर ६ गते अदालतमा मुद्दा दर्ता भएको अदालतका डिठ्ठा राजबहादुर शाहीले बताए ।
आरोपितलाई झिकाई अदालतको कानुनी प्रक्रियामा छलफल गर्ने शाहीले बताए । आरोपित दुवै गिरफ्तार भएका छैनन् ।