सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएर सङ्र्घर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको अवस्था चित्रण गर्ने फोटो मङ्सिर ५ गते म्याग्दीमा प्रदर्शन गरिएको छ ।
अपाङ्ग सङ्घ म्याग्दी र द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको संयुक्त आयोजनामा द्वन्द्वमा परेर घाइते भई अपाङ्गता भएका देशभरका १४ जना व्यक्तिहरूको फोटो प्रदर्शनी गरिएको हो ।
विस्तृत शान्ति सम्झौता भएको १२ वर्षपुगेको अवसरमा दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका नागरिकहरूको जीवनीसहितका फोटो तथा पृष्ठभूमी प्रदर्शन गरिएको थियो ।
सोही अवसरमा द्वन्द्वको क्रममा अपाङ्गता बनेका व्यक्तिहरूले समाजमा भोगेका कथाब्यथा, पीडा र भोगाइलाई पन्छाउँदै अगाडि बढेका सङ्र्घर्षका कथाहरू समेटिएको ‘१४ कथाहरूः युद्धका जीवित स्मृतिहरू’ नामक पुस्तक पनि विमोचन गरिएको छ ।
फोटो प्रदर्शनीमा देशभरका १४ जनामध्ये म्याग्दीका दुईजना द्वन्द्वपीडितको फोटो कथा समेटिएको छ । तत्कालीन द्वन्द्वको समयमा बम पड्किएर दुवै हात गुमाएर सङ्र्घर्षपूर्ण जीवन बिताउन बाध्य ३२ वर्षीय सुरेन्द्र खत्री र ६७ वर्षीय कृष्णलाल श्रेष्ठको बारेमा वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
बाख्रा चराउन गएको बेला बम पडि्कएर खत्रीले दुवै हात गुमाएका थिए भने श्रेष्ठले २०६० साल चैत ७ गते भएको म्याग्दी स्थित बेनी भिडन्तमा एउटा गोडा गुमाएका थिए । बेनीमा भएको सो घटनामा ठुलो धनजनको क्षति भएको थियो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूलाई आफन्तले मायाममता दिएर पुनर्स्थापना गरेको हुँदा समाजमा सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्ने बताए ।
बेनी भिडन्तका क्रममा अपाङ्गता भएका कृष्णलाल श्रेष्ठले शान्ति सम्झौताको १२ वर्षबितिसक्दा पनि राहतकै प्रतिक्षामा रहनु परेको बताए । उनले भने-“राहतका लागि म पटकपटक प्रशासन अनि अदालतमा पुगेँ । तर, सुनुवाइ भएन ।”
बेनी नगरपालिकाका उपप्रमुख, सञ्जु बरुवालले द्वन्द्वपीडित व्यक्तिहरूलाई स्थानीय तहको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
अपाङ्ग सङ्घ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले द्वन्द्वकालमा घाइते बनाइएका र अपाङ्गता भएका व्यक्तिहरूको पीडालाई सबैमाझ ल्याउने उद्देश्यले फोटो प्रदर्शनी गरिएको बताए ।
द्वन्द्वका १४ जीवित स्मृतिहरूको कथा रहेको वृत्तचित्र देशभर प्रदर्शन गरिएको जनाइएको छ । तत्कालीन राज्यपक्ष र सशस्त्र युद्धरत माओवादी पक्षबीच ०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको दिनको सम्झनामा कार्यक्रमको आयोजना गरिएको थियो ।




