प्रकृतिले पनि कतिसम्म ठग्छ ? भएका चार सन्तान सबै सुस्तमनस्थितिका ! त्यसमा पनि स्यहारसुसार गर्ने आमा नहुनु । त्यहाँभन्दा बढी पीडादायी अवस्था अरू के हुन्छ र ? सम्पतिको नाममा पाँच धुर जग्गा र त्यसमा निर्मित एक कोठे झुप्रो घर । त्यहीँ झुप्रो भित्र तीनओटा ढुङ्गा गाडेर बनाएको अगेनो, अगेनाको एकछेउमा भात पकाउने कसौँडी, छेउमा दुई ओटा खाट जोडेर बनाएको ओछ्यान छ । बाहिरबाट ढोकाको चुक्कुल लागेको छ । भित्र चार दाजुभाइ नाङ्गै खेलिरहेको दृश्य खट्प्वालबाट देख्न सकिन्छ । उनीहरू त्यहाँ खेल्ने मात्र हैन दिसापिसाव पनि त्यहीँ गर्ने गर्छन् । भाग्छन् भनेर काम गर्न जाने बेलामा बाहिरबाट चुकुल लगाएर जानु पर्ने बाध्यता रहेको अभिभावकले बताए ।

यस्तो कष्टकर दैनिकी विगत २० वर्षदेखिको हो । २० वर्षदेखि एउटै कोठामा दिसापिसाव गरेर दिनचर्या बिताएको पल कसैले सुनायो भने उदेक लाग्न सक्छ । कतिपयले त विश्वास गर्दैनन् । अपराध गरेको भए जेल जीवनको समय पनि टरिसक्थ्यो, नेपाल सरकारको कर्मचारी भए पेन्सन भइसक्थ्यो । तर यी दुवै होइनन्, बौद्धिक अपाङ्गता (सुस्तमनस्थिति) यहाँका एकै घरका चार भाइ दाजुभाइ यस्तै कष्टकर जीवन बिताउन बाध्य छन् ।
सदरमुकाम रहेकै त्रियुगा नगरपालिका-७ चुहाडेका जितबहादुर दनुवारको परिवारको हो । जुन ठाउँ सदरमुकाम गाईघाटबाट ८ किलोमिटर दुरीमा पर्दछ । भएका चार सन्तान सबै मानसिक रोगी र बौद्धिक अपाङ्गता भएपछि उनीहरू विगत २० वर्षदेखि अभक्षको गन्धसँगै एउटै कोठामा रातदिन कटाउँदै बस्न बाध्य छन् । ६ जनाको परिवारमध्ये पत्नीको दुई वर्षअघि मृत्यु र चार छोरा यो रोगबाट ग्रसित छन् । आर्थिक अवस्था कमजोर रहेको दनुवार परिवारका २६ वर्षीय भरत दनुवार, २४ वर्षीय पर्वत, २१ वर्षीय जयराम र १७ वर्षीय सिताराम दनुवारलाई एउटै कोठामा थुनेर दुई छाक टार्न बनिबुतो गर्न बाध्यता रहेको उनीहरूका बावु जीतबहादुरले बताए ।
उपचार खर्चका लागि आर्थिक अवस्था कमजोर भएपछि घरमा थुन्न बाध्य भएको जितबहादुरको भनाई छ । ‘पत्नीले संसार छाडेर गई हाली ।’-भक्कानिँदै जितबहादुर भन्छन्-‘दैव लागे भएका चार ओटै छोरा मानसिक रोगी छन् । उपचार गर्ने पैसा छैन ।’ दुई वर्षअगाडि जितबहादुरले पत्नी पनि गुमाएपछि मानसिक अपाङ्गता भएका चार सन्तानको रेखदेखसँगै गर्जो टार्दै आएका छन् । दैनिक मजदुरी गरेर परिवार पाल्ने जितबहादुर बेला मौकामा मजदुरी गरी बाँकी समय युवा अवस्थाका चार अशक्त छोराहरूको हेरचाहमा बिताउँछन् । ‘जस्तोसुकै रोग लागेपनि सन्तान आफ्नै हुन् ।’-आँखाभरी आँशु पार्दै उनले भने-‘उपचार गर्ने पैसा आफूसँग छैन । अरूले हेर्दैनन् ।
‘भरत ७ वर्षसम्म त ठिक थियो अरू बच्चा जस्तै हास्ने खेल्ने र बोल्ने गथ्र्यो । त्यसपछि अचानक यस्तो भयो ।’-जितबहादुरले भने । माहिलो छोरो पर्वत ७ वर्षसम्म ठिक थियो स्कुल जाने आउने गर्दथ्यो तर अचानक उसलाइ पनि जेठोकै रोगले समात्यो । दुई भाई छोराहरूलाई अचानक रोगले च्यापेपछि उपचार गर्न लागेँ । तर, साइलो र कान्छोलाई पनि दाइहरूको जस्तै लक्षण देखिन थाल्यो । ‘साइलो जयराम त झन् अरू दाजुहरूभन्दा फरक किसिमको थियो चनाखो थियो पढ्न पनि जान्थ्यो आउथ्यो । ४ कक्षासम्म पढ्यो । तर, पछि के भयो उसलाई पनि दाजुहरूको जस्तै रोग लाग्यो ।’ मानसिक अस्पताल पाटनलगायतका विभिन्न अस्पतालमा लगेर उपचार गराएकोमा नियमित औषधि सेवन तथा जाँच गराउन नसक्दा रोग निको नभएको जितबहादुरले बताए ।