राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न २२ ओटा अस्पतालका प्रयोगशालामार्फत औषधिको प्रतिरोधी जिवाणुका फैलावटसम्बन्धी अध्ययन सुरू गरेको छ ।
पछिल्लो समय मानव तथा पशुजीवाणु बलियो हुँदै जाँदा त्यस्ता जीवाणुलाई नष्ट गर्न प्रभावकारी रहेका प्रतिजैविक प्रतिरोध (एन्टिवायोटिक्स) ले काम गर्न छाडेपछि प्रयोगशालाले पहिलो पटक सातओटै प्रदेशमा रहेका प्रदेश अस्पतालसहित २२ ओटा अस्पतामा रहेका प्रयोगशालामा सो अनुसन्धान सुरू गरेको जनाएको छ ।
अनुसन्धानले कुन जीवाणुलाई नष्ट गर्न प्रतिजैविक प्रतिरोधले काम गर्न छाडेको भन्ने एकीन जानकारी आउने विश्वास स्वास्थ्य मन्त्रालयले गरेको छ । खासगरी पछिल्लो समय आउरगत तथा टाइफाईड रोगका जीवाणु विरूद्ध प्रयोग हुने सिफ्रो नामक प्रतिजैविक प्रतिरोधले काम गर्न छाडेको चिकित्सकहरू बताउँछन् ।
मानव तथा पशुपंक्षीमा लाग्ने रोगका विरूद्धमा प्रयोग हुने प्रतिजैविक प्रतिरोध कति आयात हुन्छ भन्ने एकीन तथ्याङ्क सरकारका कुनै निकायसित छैन । भारतसितको खुल्ला सीमाका कारण यस्तो समस्या आएको हो । कृषि मन्त्रालय, पशुसेवा विभागले दुई वर्षअगाडि पशुका आहारमा प्रतिजैविक प्रतिरोध मिसाउन प्रतिबन्ध लगाउने कार्यविधि तयार गरी लागू गरेको छ ।
कार्यविधिको अनुगमन गर्ने निकाय स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागमा जनशक्ति एक जना मात्र रहेको छ । हाल मुलुकभर १५ हजार पशुपंक्षीका औषधि व्यवसायी रहेका छन् ।
पशुस्वास्थ्य विभागका उपमहानिर्देशक सम्झना काफ्लेले कार्यविधि अनुगमनका लागि जनशक्ति अभाव रहेको जानकारी दिनुभयो । प्रतिजैविक प्रतिरोधले मानव तथा पशु स्वास्थ्य, वातावरण तथा कृषि क्षेत्रमा गम्भीर प्रभाव परिरहेको जनाइएको छ ।
हाल विश्वमा जिवाणु प्रतिरोधि सङ्क्रमणका कारणले सात लाख मानिसको अकालमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । नेपालमा भने यस प्रकारको सङ्क्रमणले कतिजनाको मृत्यु हुन्छ भन्ने सर्वेक्षण भएको छैन ।
अर्को तर्फ विश्व स्वास्थ्य सङ्गठनले प्रतिजैविक प्रतिरोध न्यूनिकरण गर्न विश्वव्यापि कार्ययोजना तयार गरी सदस्य देशलाई लागू गर्न आहृवान समेत गरेको छ । यसैबीच मङ्सिर ३ गते नेपालमा विविध कार्यक्रम आयोजना गरी प्रतिजैविक प्रतिरोध न्यूनिकरण दिवस मनाइयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रतिजैविक प्रतिरोध न्यूनिकरण गर्दै जाने सरकारको नीति रहेको जानकारी दिए । उनले समुदायमा प्रतिजैविक प्रतिरोध न्यूनिकरणका लागि जनचेतना जगाउन आवश्यक रहेको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले रोगका पहिचनाका आधारमा उपचार गर्ने पद्धति बसाल्न मन्त्रालयले नयाँ नीति बनाउने बताए । समाचार साभारः रासस