३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–२ का २८ वार्षीय सोमलाल स्याङ्बोलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित महिला नेपाली भाषा प्रष्ट बोल्न समेत नसक्ने भएकाले उजुरी दिने निकाय थाहा नभएकाले उजुरी ढीला गरी आएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीको अनुमान छ ।
इन्स्पेक्टर केसीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते चौतारास्थित जिल्ला अस्पतालमा गरिएको छ ।
त्यसैगरी ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–२ गोल्चेका २१ वर्षीय चन्द्रकाजी स्याङ्बोलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा पीडितले ०७५ कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए ।
इन्स्पेक्टर केसीका अनुसार पीडितको उजुरी आएको भोलिपल्ट कात्तिक २९ गते मात्र प्रहरीले उजुरी दर्ता गरेको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २९ गते चौतारास्थित जिल्ला अस्पतालमा गरिएको छ ।
त्यसैगरी २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा–८ इर्खुका २९ वर्षीय बालकृष्ण श्रेष्ठलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए । उनका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते चौतारास्थित जिल्ला अस्पतालमा गरिएको छ ।