सुनसरीको गढी गाउँपालिका–२ निवासी ४१ वर्षीय अधिवक्ता विनोदकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय दुहवीका प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
कानुनी शासनको वकालत तथा मानव अधिकार रक्षाका लागि प्रतिवद्ध रही क्रियाशील चौधरीलाई कात्तिक ३० गते इलाका प्रहरी कार्यालय हाता भित्रै प्रहरीले दुर्व्यवहार गरेका हुन् ।
पीडित चौधरीले भने–‘सवारी दुर्घटनाको घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहवी, सुनसरीमा छलफल हुने भएकाले कानुनी राय सल्लाहका लागि भुपेन्द्रकुमार चौधरीले बोलाएकाले प्रहरी कार्यालय गएको हुँ ।’
‘त्यस घटनाका सम्बन्धमा छलफल हुँदै गर्दा पक्ष विपक्षका मानिसहरू र प्रहरी समेतले आफ्ना कुराहरू राखिसकेपछि मैले केही कुरा राख्न खोज्दा छलफलमा बसेका सई गोपालप्रसाद सापकोटाले कुनै कुरै नसुनी बोल्नै नदिई तँ बोल्ने को होस ? यहाँ मेरो कार्यालयबाट निस्किहाल भने । मैले म कानुन व्यवसायी हुँ भनेर परिचय दिएँ । उनले मलाई धम्क्याउँदै मैले लगाएको लुगाको कलर समातेर हातपात गरे ।’–उनले भने ।
पीडित चौधरीले भने–‘यो जनताको कार्यालय हो यहाँ मैले कुनै कुरा बोल्न किन नपाउने ? भनी प्रतिप्रश्न गर्दा उनले यो मेरो कार्यालय हो, मेरो मर्जी चल्छ भन्दै अन्य प्रहरीहरू असई डम्बर गौतम र इन्स्पेक्टर रोहित दाहाल समेतका प्रहरीहरू ‘यो साले वकिल’लाई थुन्दे भन्दै हातपात गर्दै कार्यालयको कम्पाउण्ड बाहिर निकाली दिए ।’ उनीहरूलाई कारवाही गर्न पीडित अधिवक्ता विनोदकुमार चौधरीले माग गरेका छन् ।