महिला हिंसाविरूद्धका गतिविधि अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक दुभराब्का सिमोनोभिच नेपालको १० दिवसीय भ्रमणमा मङ्सिर ३ गते सोमबार काठमाडौँ आउने भएका छन् ।
भ्रमणका क्रममा उहाँले लिङ्गका आधारमा महिलाविरूद्ध हुने हिंसा, भेदभाव, आदिवासी, शरणार्थी महिला, शारीरिक रूपमा अक्षम महिला, आप्रवासी तथा ग्रामीण एवम् सुदूर क्षेत्रका महिलाका अवस्थाबारे जानकारी लिने राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ ।
राष्ट्रसङ्घीय मानव अधिकार परिषद्बाट पहिलोपटक स्वतन्त्र अध्ययनका निम्ति खटिएकी विशेष प्रतिवेदक सिमोनोभिचले महिला हिंसाविरूद्धका नेपालका ऐन कानुन, नीति नियमबारे जानकारी लिनका साथै वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
केन्द्रका अनुसार संयुक्त राष्ट्रसङ्घमा आबद्ध निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय नियोग, नागरिक समाज, राष्ट्रिय मानव अधिकार आयोग, हिंसाबाट जोगिएका नागरिकहरूसँग पनि छलफल गर्नेछन् ।
विशेष प्रतिवेदक सिमोनोभिचले आफ्नो प्रतिवेदन आगामी वर्ष मानव अधिकार परिषद्मा प्रस्तुत गर्नेछन् । समाचार साभारः रासस