INSEC Online

📅 २०८३ जेष्ठ २१

दाङमा अत्यावश्यकीय औषधी र स्वास्थ्य सामग्री जलेर नष्ट

जेन–जी आन्दोलनको क्रममा दाङमा भएको आगजनीमा परी अत्यावस्यकीय औषधी तथा स्वास्थ्य सामग्री जलेर नष्ट भएका छन् ।

घोराही, तुलसीपुर उपमहानगरपालिकामा राखिएका अत्यावश्यकीय सामग्री तथा स्वास्थ्य सामग्री जलेर नष्ट भएको स्वास्थ्य शाखाहरुले बताएका छन् । घोराही उपमहानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखामा स्टोर गरी राखिएका अत्यावश्यकीय औषधी र स्वास्थ्य सामग्री जलाइएको शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार उपमहानगरका १९ वटामा रहेका स्वास्थ्य इकाइ, नगर स्वास्थ्य इकाइमा नियमित पठाउन राखिएका सिटामोल, जीवन जल, मेट्रोनिकाजोल, सुगर, प्रेसर, क्षयरोगका औषधी, कटन, बेटारिन, परिवार नियोजनका अस्थायी साधनहरु आन्दोलनकारीहरुले जलाइदिएको शाखा प्रमुख पौडेलले बताउनुभयो । यस्तै घोराहीकै वडा नं. ६ र १० मा रहेको स्वास्थ्य इकाइका ६ वटा कोठा जलेर औषधी र स्वास्थ्य सामग्री जलेको शाखाले जनाएको छ भने वडा नं. १८ मा रहेको खोप क्लिनिकमा तोडफोड गरिएको छ ।

Photo 2025-09-12 Dang-01

यसैगरी तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडा तथा पालिका आफैँले सञ्चालन गरेको मेट्रो हस्पिटलका लागि राखिएका स्वास्थ्य सामग्री जलेर खरानी भएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । उहाँले तीन महिनालाई पुग्ने अत्यावश्यकीय औषधीसँगै तीन वटा भ्याक्सीन राख्ने आईएलआर फ्रिज, एउटा आईसप्याक जमाउने डि–फ्रिज, आठ ओटा ल्याब्रोटरी फ्रिज, १ सय भन्दा बढी भ्याक्सीन राख्ने भ्याक्सीन क्यारीयर र लक्जेम्बर बक्स पाँच वटा जलेर नष्ट भएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्यका सबै औषधी, सामग्री जलेर शुन्यमा पुगेको भन्दै यसले उपचार सेवामा ठूलो क्षति पुगेको बताउनुभयो ।

Photo 2025-09-12 Dang-02

नगरका स्वास्थ्य इकाइहरुमा पठाउनका लागि औषधी र स्वास्थ्य सामग्री खरिद ठेक्कामार्फत हुने भएकाले निश्चित समयका लागि अग्रिम औषधी ल्याएर राखिने भन्दै घोराही स्वास्थ्य शाखा प्रमुख पौडेलले त्यसरी राखिएका अत्यावश्यकीय औषधीसमेत जलाइदिएर क्षति पुर्‍याएको बताउनुभयो । यसअघि पठाएको औषधी अहिले स्वास्थ्य इकाइमा रहेको भन्दै उहाँले आउँदो एक महिनापछि औषधीको अभाव हुने बताउनुभयो ।

यसैबीच जेन–जी पुस्ताले गरेको आन्दोलनका कारण जिल्लाका अन्य स्थानीय तहका स्वास्थ्य संस्था समेत निर्वाधरुपमा चल्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङका १ सय २१ स्वास्थ्य संस्थाको ओपीडि सेवा बन्द भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख टिवी गुरुङले जानकारी दिनुभयो । उहाँले आकस्मीक सेवा मात्रै सुचारु रहेको बताउनुभयो । ‘खोप, प्रसुती,  क्षयरोगका औषधी लगायतका अत्यावश्यक सेवा मात्रै सुचारु छ’ उहाँले भन्नुभयो, ‘जिल्लाका १ सय २७ स्वास्थ्य संस्था मध्ये ६ वटा नगर अस्पतालमा मात्रै ओपिडी सेवा संचालनमा छ ।’ राप्ती, बंगलाचुली, बबई, तुलसीपुर, दंगीशरण र लमहीको नगर अस्पताल बाहेकका १० वटै स्थानीय तहका स्वास्थ्य संस्थामा आकस्मिक र अत्यावश्यक बाहेकका सेवा नचलेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

अन्य

भिडियो