भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जालविरूद्धको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा ८३ ओटा सरकारी संरचना र ४२ ओटा निजी सम्पत्तिका संरचनामा आगजनी तथा तोडफोड भएको पाइएको छ ।
कोशी प्रदेशका १४ ओटा जिल्लामध्ये झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेहृथुममा जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भएको पाइएको हो ।
पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, भोजपुर र सङ्खुवासभामा जेनजी आन्दोलनका क्रममा धर्ना र ज्ञापनपत्र बुझाउने कार्य भएपनि आगजनी र तोडफोडका घटना नभएको इन्सेकले गरेको अनुगमनका क्रममा पाइएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले इन्सेक प्रतिनिधिका साथै मिडिया मोनिटरिङ गरी तयार पारेको प्रारम्भिक विवरणमा सबैभन्दा बढी क्षति झापामा भएको पाइएको छ । झापामा जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २३ गतेदेखि भदौ २४ गतेसम्मको अवधिमा २२ ओटा सरकारी संरचना र नौ ओटा निजी सम्पत्तिका संरचना गरी ३१ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ ।
मोरङमा २० ओटा सरकारी संरचना र ६ ओटा निजी सम्पत्तिका संरचना गरी २६ ओटा संरचनामा आगजनी र तोडफोड गरिएको छ । सुनसरीमा १६ ओटा सरकारी संरचना र १२ ओटा निजी सम्पत्तिका संरचना गरी २८ ओटा भौतिक संरचनामा आगजनीका साथै तोडफोड गरिएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले तयार पारेको प्रारम्भिक विवरण अनुसार इलाममा चार ओटा सरकारी संरचना र चार ओटा निजी सम्पत्तिका संरचना गरी आठ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ । ताप्लेजुङका तीन ओटा सरकारी संरचना र चार ओटा निजी सम्पत्तिका संरचना गरी सात ओटा संरचनामा आगजनीका साथै तोडफोड गरिएको छ ।
सोलुखुम्बुका एक ओटा सरकारी संरचनामा तोडफोड गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा तेहृथुममा पूर्व प्रधानमन्त्री केपी शर्माको ओलीको जन्मघरमा आगजनी गरिएको छ ।
कोशीमा आगजनी र तोडफोड प्रारम्भिक विवरण-








