INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलन- कोशीका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी, सरकारी सेवा प्रभावित

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले चलाएको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी छ ।

जेनजी पुस्ताले ०८२ भदौ २३ गते चलाएको आन्दोलन भदौ २६ गते चौथो दिनमा चलिरहँदा कोशी प्रदेशमा सरकारी सेवा र जनजीवन अझै सामान्य बन्न सकेको छैन् ।

सङ्खुवाभामा सरकारी कार्यालय बन्द गरिएको छ । जिल्ला अदालत सुनसरीले सार्वजनिक सूचना जारी गरी जिल्ला अदालतको सेवा बन्द रहेको जानकारी गराएको छ ।

इन्सेक इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्ला प्रशासनले कार्यालयले स्थानीय शासन ऐन, २०२८ दफा ६ क बमोजिम भदौ २६ गते बेलुका ८ बजेदेखि भदौ २७ गते विहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। जेनजी आन्दोलनका कारण जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्ला प्रशासनले कार्यालयले स्थानीय शासन ऐन, २०२८ दफा ३ क बमोजिम भदौ २६ गतेका लागि विहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जेनजी आन्दोलनका कारण जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनु भयो । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै खाँदवारी नगरपालिकाले भदौ २६ र २७ गते सम्पूर्ण सरकारी सेवा बन्द गराएको छ ।

इन्सेक तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्ला प्रशासनले कार्यालयले स्थानीय शासन ऐन, २०२८ दफा ३ क बमोजिम भदौ २६ गतेका लागि विहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जेनजी आन्दोलनका कारण जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनु भयो ।

इन्सेक मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय शासन ऐन, २०२८ दफा ३ क बमोजिम भदौ २६ गतेका लागि विहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । साँझ ५ बजेदेखि भदौ २७ गते विहान ६ बजेसम्मलाई कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ । जेनजी आन्दोलनका कारण जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गरी निषेधाज्ञाका साथै कर्फ्यु आदेशलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले बताउनु भयो ।

इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्ला प्रशासनले कार्यालयले स्थानीय शासन ऐन, २०२८ दफा ३ क बमोजिम भदौ २६ गतेका विहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जेनजी आन्दोलनका कारण जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो ।

इन्सेक ओखलढुङ्गा प्रतिनिधि सरस्वती वानियाका अनुसार जिल्ला प्रशासनले कार्यालयले स्थानीय शासन ऐन, २०२८ दफा ३ क बमोजिम भदौ २६ गतेका लागि विहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जेनजी आन्दोलनका कारण जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरेको छ ।

इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गर्दै आन्दोलनको चौथो दिनमा पनि कर्फ्यु आदेशलाई निरन्तरता दिइएको छ । जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय शासन ऐन, २०२८ को दफा ६ क बमोजिम भदौ २६ गते अपरान्हृ १ बजेदेखि साँझ ५ बजेसम्म र भदौ २६ गते राति १० बजेदेखि भदौ २७ गते विहान १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । जिल्लामा बिचमा केही समय आवतजावतलाई खुकुलो बनाएको प्रशासनले पुन कर्फ्युलाई कडाइ गरेको छ ।

जिल्लाको इनरूवा नगरपालिका, इटहरी उपमहानगरपालिकालगायतका क्षेत्रमा नेपाली सेनाले गस्ती बढाएको छ ।

सुनसरी जिल्ला अदालतले भदौ २६ गते सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि सेवा प्रवाह बन्द गरेको छ । विषम परिस्थितीका कारण अर्को सूचना नभएसम्मका लागि अदालतबाट प्रवाह हुने सबै किसिमका सेवा बन्द गरिएको श्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाद्वारा जारी सूचनामा उल्लेख छ ।

कोशी गाउँपालिका भदौ २६ गते सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेकका अन्य गाउँपालिकाबाट प्रवाह हुने सबै किसिमका सेवा बन्द गराएको छ ।

इन्सेक उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्ला प्रशासन कार्यालयले स्थानीय शासन ऐन, २०२८ दफा ३ क बमोजिम भदौ २६ गतेका विहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । जेनजी आन्दोलनका कारण जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनु भयो ।

अन्य

भिडियो