जेनजीको आन्दोलनको मौका छोपी कञ्चनपुर कारागारबाट भागेका एक कैदीबन्दीलाई ४५ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ०८२ भदौ २५ गते गिरफ्तार गरेको छ ।
प्रहरीले गिरफ्तार गरेका कैदीबन्दी दोधाराचाँदनी नगरपालिका–१ निवासी ३५ वर्षीय दिपक सुनार रहेका छन्। सुनारले भदौ २५ गते मादक पदार्थ सेवन गरी दोधाराचाँदनी नगरपालिका–२ स्थित एक घरमा प्रवेश गरी ४५ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा गिरफतार गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगतडाहा मगरले बताउनुभयो ।
प्रहरी निरीक्षक मगरका अनुसार कारागार कार्यालयसँग बुझ्दा आरोपित फरार कैदी रहेको पुष्टि भएको छ । उनी भदौ २४ गते साँझ कारागारबाट फरार भएका थिए र दुई वर्षअघिबाट उनी जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए ।
कारागारबाट भागेका अन्य कैदीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको ईलाका प्रहरी निरीक्षक मगरले बताउनुभयो ।