INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीमा जेनजी आन्दाेलन: सार्वजनिक र निजी सम्पत्ति ताेडफाेड तथा आगजनी

 

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भदौ २४ गते जेनजी आन्दोलनकारीहरुले गरेको प्रदर्शनबाट सरकारी सम्पत्ति र निजी निवासहरुमा क्षति भएको छ । प्रदेशका १० जिल्लाहरुमा सरकारी कार्यालय, पार्टी कार्यालय, सरकारी निवास र राजनीतिक दल, जनप्रतिनिधिका निजी निवासहरुमा तोडफोडसँगै आगजनी गरिएको छ । आन्दोलनकारीहरुले सुर्खेत स्थित कर्णाली प्रदेश सभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, झुप्रा बृहत खानेपानीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १, २, ३, ६, ७ र ९ को कार्यालय, सरकारी वकिलको कार्यालय, मुख्यमन्त्री निवास लगायतका सार्वजनिक कार्यालयहरुमा तोडफोडसँगै आगजनी गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । त्यस्तै कांग्रेस उपसभापति पुर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, वीरेन्द्रनगरका नगर प्रमुख मोहनमायाँ ढकाल र उपप्रमुख निलकण्ठ खनालको निजी निवास, प्रदेश अस्पतालका पूर्व निर्देशक डाक्टर डम्बर खड्काको निवासमा तोडफोडसँगै आगजनी गरेका छन् ।

सरकारी सम्पत्ति र नेताहरुका घरलाई निसाना बनाएका आन्दोलनकारीहरुले तोडफोडसँगै आगजनी गरेका थिए । त्यस्तै सरकारी वकिल कार्यालयको गाडी र झुप्रा बृहत खानेपानीको मोटर साइकलमा आगजनी गरिएको थियो । आन्दोलमा १० जना आन्दोलनकारी र दुई जना सुरक्षाकर्मीसहित १२  जना घाइते भएका छन् । जसमध्ये कांग्रेस उपसभापति पुर्णबहादुर खड्काको घरमा आगजनी गर्न गएका एक जनालाई प्रहरीले गोली हानेपछि उनको अवस्था गम्भीर रहेको छ । अवस्था नियन्त्रण बाहिर गएपछि भदौ २४ गते साँझ ४:३० बजेदेखि जिल्ला प्रशासनले वीरेन्द्रनगरमा कर्फ्यु जारी गरेको थियो । २५ गते बिहानै देखि नेपाली सेनाले सार्वजनिक सम्पत्ति र सडकहरुमा गस्ती गरिरहेको छ । प्रदेशको राजधानी भएका कारण पनि सुर्खेतमा अन्य जिल्लाभन्दा आन्दोलनको प्रभाव बढी देखिएको इन्सेकको स्थलगत अनुगमनबाट पुष्टि भएको छ ।

जुम्लामा जेनजी आन्दोलनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालय र सरकारी कार्यालय तोडफोड गरी आगजनी गरेका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेमकिपा, राप्रपाका पार्टी कार्यालय तोडफोडसँगै आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले चन्दननाथ नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । आन्दोलनमा नेपाल प्रहरी र नगर प्रहरीका एक–एक जना र एक जना आन्दोलनकारी घाइते भएका छन् ।

इन्सेक कालिकोट प्रतिनिधि कालिबहादुर मल्लका अनुसार भदै २४ गते कालिकोटमा आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका पार्टी कार्यालय तोडफोडसँगै आगजनी गरेका थिए । आन्दोलनकारीहरुले बजार क्षेत्र, विद्यालय र सरकारी कार्यालयहरु पुर्णरुपमा बन्द गरेका थिए ।

इन्सेक मुगु प्रतिनिधि जीवन सेजुवालका अनुसार आन्दोलनकारीहरुले नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालय तोडफोड गरेका थिए । जिल्ला प्रशासन कार्यालयको मुख्य गेट बजारका विभिन्न क्षेत्रमा टायर बाल्दै विरोध जनाएका उनीहरुले नेपाली काँग्रेसको बिपी स्मृति भवन र नेकपा एमालेको मनमोहन स्मृति भवन तोडफोड गरेका हुन् । उनीहरुले छायाँनाथ रारा नगरपालिकामा नगर प्रमुखको कार्यकक्ष भित्र पसेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो निकालेर जलाएका थिए ।

जाजरकोट, हुम्ला, दैलेख, सल्यान, डोल्पा र रुकुमपश्चिममा जेनजी आन्दोलनकारीहरुले प्रदर्शन गरेपनि सार्वजनिक सम्पत्तिमा कुनै क्षति नभएको जिल्ला प्रतिनिधिहरुले बताएका छन् । रुकुमपश्चिम र मुगुमा सेना परिचालन गरिएको छैन । सेना परिचालन भएका ठाउँमा विद्यालय, बजार र सार्वजनिक यातायात लगायत बन्द गरिएको छ ।

अन्य

भिडियो