नेपाली सेनाले विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्न अपिल जारी गर्दै देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरिएको जनाएको छ।
नेपाली सेनाले भदौ २५ गते जारी गरेको अपिलमा आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । सेनाले अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि सबैमा अपिल गरेको छ।
अपिलमा भनिएको छ, आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ती तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कार प्रयास जस्ता क्रियाकलापहरु गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा भदाै २५ गते बेलुका ५ बजेसम्म देशभर निरन्तर रहने र भदाै २६ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने उल्लेख छ। परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने सेनाले बताएको छ।
निषेधाज्ञा र कर्फ्यूका बेला एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुनेछन् ।
सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदशर्न, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने अपिलमा उल्लेख छ।
सेनाले सबै आम नागरिकलाई अफवाहको पछाडि नलाग्न र आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वासन गर्न अनुरेध गरेको छ।

