जेनजी पुस्ताको भदौ २४ गतेको आन्दोलनमा ऐक्यवद्धता रहेको जनाउँदै रामधुनी नगरपालिका-५ झुक्कास्थित झुम्का क्षेत्रीय कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाले हुलदङ्गा गर्न थालेपछि कारागारबाट १ हजार ४ सय बढी कैदीबन्दी तथा थुनुवा बाहिर निस्किएका छन् ।
कारागारका प्रमुख सुवास लामिछानेले जेनजी पुस्ताको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै कारागारभित्र रहेका १ हजार ७ सय ९८ जनाले कैदीबन्दी तथा थुनुवाले भदौ २४ गते साँझ ५ बजे कारागार जलाउने धम्की दिदैँ हुलदङ्गा गरेपछि कारागारमा रहेका कैदीबन्दी फरार भएका हुन् ।
कारागारको सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागार सुरक्षा काबुभन्दा बाहिर गएको भन्दै कारागार प्रशासनलाई जानकारी गराएपछि भदौ २४ गते साँझ ५ बजेपछि कारागारका रहेका कैदीबन्दी तथा थुनुवा ५/१० जनाको झुण्ड बनाउँदै बाहिर निस्किएका हुन् ।
कारागारभित्र रहेकाहरूले कारागार नै जलाउने धम्कीदिएपछि सुरक्षाका लागि कारागार प्रशासनले नेपाली सेनाको सहयोग माग गरेपनि समयमा नेपाली सेना नआएकाले ९ सय भन्दा बढी कैदीबन्दी तथा थुनुवाहरू भदौ २४ गते राति सवा दश बजे अगाडि कारागारबाट फरार भएका हुन् ।
कारागारका जेलर सुवास लामिछानेले भदौ २४ गते राति १० बजेर २० मिनेटमा नेपाली सेना आएपछि कारागारमा रहेका ५ सय बढी कैदीबन्दी तथा थुनुवाहरूको फोटो खिच्दै परिस्थिती सहज भएपछि कारागार फर्कने शर्तमा बाहिर निस्कन दिएको बताउनु भयो । उहाँले कारागारजस्तो संरचनामा आगजनी भए तत्काल बनाउन सम्भव नहुने भन्दै र जनधनको क्षति हुने भएकाले समेत कैदीबन्दी तथा थुनुवालाई बाहिर निस्कन दिएको बताउनु भयो ।
जेलर लामिछाने इन्सेक प्रतिनिधिसँगको कुराकानीमा कारागारको सुरक्षा कारागार प्रशासन र सुरक्षाकर्मीको काबुभन्दा बाहिर गएपछि ९ सय बढी कैदीबन्दी फरार भएका र ५ सय बढी कैदीबन्दी तथा थुनुवालाई नेपाली सेनाको रोहवरमा छाडिएको बताउनु भयो ।
जेलर लामिछानेका अनुसार अहिले कारागारमा केही कैदीबन्दी तथा थुनुवा र नाइके, भाइ नाइकेमात्र छन् ।
जेनजी पुस्ताको आडमा इलाका प्रहरी कार्यालय उर्लावारीको हिरासतमा रहेका १९ जना थुनुवा र इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा रहेका १४ जना थुनुवाहरू फरार भएका छन् । जसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।