सुर्खेतमा जेनजी आन्दोलनकारीहरूले भदौ २४ गते गरेको आन्दोलनमा कर्णाली प्रदेशका १० जिल्लाहरुमा सरकारी कार्यलय र पार्टी कार्यालयहरुमा तोडफोडसँगै आगजनी गरिएको छ । आन्दोलनकारीहरुले सुर्खेत स्थित नापी कार्यालय, मालपोत कार्यलय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, झुप्रा बृहत खानेपानीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सरकारी वकिलको कार्यालय, मुख्यमन्त्री निवास लगायतका सार्वजनिक कार्यालयहरुमा तोडफोडसँगै आगजनी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । त्यस्तै कांग्रेस उपसभापति पुर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास र प्रदेश अस्पतालका पूर्व निर्देशक डाक्टर डम्बर खड्काको निवासमा तोडफोडसँगै आगजनी गरेका छन् । उनीहरूले फर्निचर र कागजातहरू सडकमा फालेर जलाएका छन् । २४ गते बिहान कर्णाली प्रदेशसभा र मुख्यमन्त्रीको सरकारी निवासअघि विरोध प्रर्दशन गरेका थिए । कांग्रेस नेता पुर्णबहादुर खड्काको घरमा आगजनी गर्न गएका एक जना प्रहरीको गोली लागेर घाइते भएका छन् । अवस्था नियन्त्रण बाहिर गएपछि वीरेन्द्रनगरमा कफ्र्यू जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिनुभयो ।
जुम्लामा जेनजी समुहले राजनीतिक दलका पार्टी कार्यालय र सरकारी कार्यालय तोडफोड गरी आगजनी गरेको छ । जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेमकिपा, राप्रपाका पार्टी कार्यालय तोडफोडसँगै आगजनी गरेका हुन् । त्यस्तै चन्दननाथ नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेको छ । आन्दोलनमा नेपाल प्रहरी र नगर प्रहरीका एक–एक जना र एक जना आन्दोलनकारी घाइते भएका छन् । तोडफोड र आगजनीबाट करोडौँको क्षति भएको प्रतिनिधि रावलले जानकारी दिनुभयो ।
त्यस्तै कालिकोटमा आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका पार्टी कार्यालय तोडफोडसँगै आगजनी गरेका छन् । जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार २४ गते दिनभरी आन्दोलनकारीहरुले बजार क्षेत्र, विद्यालय र सरकारी कार्यालयहरु पुर्णरुपमा बन्द गरेका थिए ।
मुगु इन्सेक प्रतिनिधि जीवन सेजुवालका अनुसार आन्दोलनकारीहरुले नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालय तोडफोड गरेका छन् । कृष्णा चौकबाट सुरु गरिएको प्रदर्शनमा उनीहरुले जिल्ला प्रशासन कार्यालयको मुख्य गेट बजारका विभिन्न क्षेत्रमा टायर बाल्दै विरोध जनाएका उनीहरुले नेपाली काँग्रेसको बिपी स्मृति भवन र नेकपा एमालेको मनमोहन स्मृति भवन तोडफोड गरेका हुन् । उनीहरुले छायाँनाथ रारा नगरपालिकामा नगर प्रमुखको कार्यकक्ष भित्र पसेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो निकालेर जलाएका थिए ।
जाजरकोटमा २४ गते जेनजीले बजारभरी र्याली निकाल्दै विरोध प्रदर्शन गरेको छ । जिल्ला प्रतिनिधि बासुदेव शर्माका अनुसार सदरमुकाम स्थित भेरी नगरपालिका–४ तल्लो थाप्ले, ठाँटी गैरीखाली लगायत बजार क्षेत्र हुँदै जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेर उनीहरुले नाराबाजी लगाएका थिए । आन्दोलन शान्तिपुर्ण रहेको प्रतिनिधि शर्माले जानकारी दिनुभयो ।
हुम्लामा पनि जेनजी समुहले जिल्ला प्रशासन कार्यालयको गेड अगाडी टायर बालेर विरोध प्रर्दशन गरेका थिए । जिल्लामा आन्दोलन शान्तिपूर्ण रहेको सिंहले बताउनु भयो ।
दैलेख इन्सेक प्रतिनिधि अमर सुनारका अनुसार जिल्लामा शान्तिपुर्ण प्रदर्शन भएको थियो । त्यस्तै सल्यान जिल्ला प्रतिनिधि रामचन्द्र रेग्मीका अनुसार जिल्लामा पनि शान्तिपुर्ण आनदोलन गरिएको थियो । डोल्पा प्रतिनिधि विष्णु देवकोटाका अनुसार जिल्लामा शान्तिपुर्ण आनदोलन गरिएको थियो । त्यस्तै रुकुम जिल्ला प्रतिनिधि जीवन खड्काका अनुसार जिल्लामा शान्तिपुर्ण प्रदर्शन गरिएको थियो ।







