कञ्चनपुरमा ०८२ भदौ २४ गते बिहानैदेखि जेन–जी पुस्ता, यातायात, उद्योगी, व्यवसायी, विद्यार्थी युवाहरुले आन्दोलन चर्काएका छन् । स्वतस्फुर्त उठेको आन्दोलनकारीहरुले हत्यारा सरकार विद्यार्थी, बालबालिका मार्न नपाईने भन्दै आगजनी, तोडफोड गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड, फर्निचर सामग्री तोडफोड आगजनी गरेका छन् । भीमदत्त नगरपालिका मुल गेटमा तोडफोड आगजनी गरिएको छ ।
भ्रष्टाचार रोक्न नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको मुल गेटमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन् । आन्दोलनका कारण कञ्चनपुरका शिक्षणसंस्था, उद्योग, व्यवसाय यातायात क्षेत्र पूर्ण प्रभावित भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाको सक्दो शान्ति सुरक्षा प्रबन्ध मिलाएको बताउनुभएको छ ।
जेन–जी पुस्ताको आन्दोलन कञ्चनपुरमा झन् उग्र बनेपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शान्ति सुरक्षा कायम राख्न भदौ २४ गते बिहान ११ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको जानकारी दिनुभयो । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आगजनी र तोडफोड गरेका छन । आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयको हातामा पसेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ ।
दशरथ चोक क्षेत्र तनाव ग्रस्त बनेको छ । शुक्लाफाँटा नगरपालिकाको भवनमा आगजनी भएको छ । त्यसैगरी, वेदकोटमा अवस्थित निवर्तमान गृहमन्त्री रमेश लेखकको घर घेर्न प्रदर्शनकारी युवा अघि बढेपछि सुरक्षाकर्मीलाई थप दबाब परिरहेको छ । कञ्चनपुरको महेन्द्रनगर, झलारी, बेलौरी, पुनर्वास, बेलडाँडी सहित विभिन्न ग्रामीण क्षेत्रका बजार क्षेत्रहरूमा समेत जेन–जी पुस्ताका युवाहरूको प्रदर्शन निरन्तर जारी छ । जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणलाई सुरक्षालाई ध्यानमा राख्दै अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेको छ भने सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको जनाएको छ । महेन्द्रनगरमा टायर बालेर युवा प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय निसाना बनाएका छन् ।सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर कञ्चनपुरका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।





