भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा ९जेनजी०हरुले ०८२ भदौ २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका १९ जनाको उपचारको क्रममा मृत्यु भएको छ । उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा तीन, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा एक जना र सुनसरीमा दुई जनाको मृत्यु भएके हो ।
मृत्यु हुनेहरुमा कीर्तिपुरका ४२ वर्षीय बुद्धबहादुर तामाङ, उदयपुरका बेलका नगरपालिका–४ का २९ वर्षीय सन्तोष विक, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीराम चौलागाई, काठमाडौं बनस्थलीका २६ वर्षीय ईश्वर बहादुर अधिकारी, ठेगाना नखुलेको २९ वर्षीय आयुष थापा, ठेगाना नखुलेको २७ वर्षीय गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का २१ वर्षीय योगेश श्रेष्ठ रहेका छन् ।
त्यसैगरी अर्घाखाँचीका १८ वर्षीय निश्चल सारु मगर, गोरखा बारपाक सुलीकोट गाउँपालिका– ५ का २२ वर्षीय विमल भट्ट र अर्का एक जनाको नाम र ठेगाना नखुलेका युवाको सिभिल अस्पतालमा मृत्यु भएको छ ।
बनस्थलीका ३० वर्षीय सौरभ किशोर श्रेष्ठ, बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोराको केएमसी अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २३ वर्षीय रसिद खतिवडाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका– ७ का ३० वर्षीय विनोद महर्जन, काभ्रे तेमाल गाउँपालिकाका ४२ वर्षीय दली नारायण तामाङ र भक्तपुर दुवाकोटका २३ वर्षीय योगेन्द्र न्यौपानेको बानेश्वरको एभरेष्ट अस्पतालमा मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका– १६ का २३ वर्षीय अभिशेष श्रेष्ठ र परिचय खुल्न नसकेका एक अर्का व्यक्तिको मृत्यु भएको हो ।
घाइतेहरुको सिभिल अस्पतालमा १ सय ७० जना, ट्रमा सेन्टरमा ५९ जना, एभरेष्ट अस्पताल (नयाँ बानेश्वर) मा १ सय २ जना, के. एम.सी (सिनामंगल) मा ३१ जना (सात जना डिस्चार्ज), विर अस्पतालमा १० र पाटन अस्पतालमा ६ जनाको उपचार भइरहेको छ ।
त्यस्तै त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा १८, नर्भिकमा तीन, अन्नपूर्ण न्यूरोमा चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थान, धरानमा चार, गण्डकी मेडिकल कलेज(पोखरामा) एक, पोखरा स्वास्थ्य विज्ञान एकेडेमीमा तीन, विराट मेडिकल कलेज(विराटनगर) मा चार, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको छ ।