बाजुरा जिल्लाको बुढीनन्द नगरपालिका–१० पिर्रेकोट घरभई हाल जानकी गाउँपालिका–६ डिठापुर नगरपालिका–१ का ३५ वर्षीय विरेन्द्रकुमार सिंहको प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्षमा रहेको अवस्थामा बिरामी भएका सिंहको उपचारका क्रममा ०८२ भदौ २३ गते कोहलपुर स्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दीपक पातलीले बताउनु भयो ।
प्रहरीले जानकी गाउँपालिका– ६ अन्तर्गत कपासी नजिक एक जना युवकको शव फेला परेको थियो । उक्त हत्या घटनाको आरोपमा प्रहरीले सिंहलाई कर्तव्य ज्यान मुद्दा चलाउन ०८२ भदौ २० गते म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान गर्दै आएको थियो ।
पीडितकी दीदी लक्ष्मी शाहीले भाइलाई भदौ २२ गते बेलुका खाना नास्ता खुवाउन जाँदा सादा पोसाकका प्रहरी आएर कुटपिट गरेको र जबरजस्ती स्वीकार्न लगाउदा नमानेपछि कुटपिट गरी घाइते बनाएको बताउनु भयो । सिंहको बुहारी सिकुमाया सिंहले टाउको, हातमा कालो नीलडाम एकैदिनमा कसरी भएको हो भन्ने प्रश्न गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा समेत जाने बताउनु भयो । सिंहको शव आफन्तहरुले बुझ्न मानेका छैनन् र मेडिकल कलेजमै राखिएको छ ।