भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले ०८२ भदौ २३ गते कोशी प्रदेशको राजधानी विराटनगरसहित मुख्य शहर क्षेत्रमा आन्दोलन गरेका छन् ।
सुनसरीको इटहरीमा जेन जी पुस्ताको आन्दोलन आक्रमक हुँदै गएपछि प्रहरीले हवाइ फायर गरेको छ । आन्दोलनकारीले इटहरीको मुख्य चोक भएर जाने पूर्व पश्चिम राजमार्गमा अवरोध खडा गरेपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
सुरक्षाकर्मीले झापाको दमकका जेन जीले चलाएको आन्दोलनमा गोली चलाएकाे छ । प्रहरीले चलाएको गोली लागेर कमल गाउँपालिका-५ का प्रकाश भट्टराई घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुले प्रदर्शनकारीहरू दमक नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले हवाई फायरसहित अश्रुग्याँस प्रहार गरेको हो ।

दुवै पक्षबीच भएको झडपमा परी केही प्रहरी कर्मचारी पनि घाइते भएको उनले बताए। झापाका दमक र बिर्तामोडमा जेनजी समूहको आन्दोलन नियन्त्रण भन्दा बाहिर गएको थियो। आन्दोलनलाई साम्य बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। बिर्तामोडको मुक्ति चोक र राजमार्गमा भेला भएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू बिर्तामोड नगरपालिकातर्फ अगाडि बढिरहेका छन्।
आन्दोलनकारीले कोशी प्रदेशसभा अगाडि लगाएको ब्यारिकेड तोडेर जेनजीले प्रदर्शन गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

अस्पताल चौकतिरबाट अघि बढेका प्रदर्शनकारीले सुरक्षाका लागि प्रहरीद्वारा लगाइएको फलामे बार(ब्यारिकेड) तोडफोड गरेका हुन् । आन्दोलनकारीहरुले प्रदेशसभा गेट अगाडि प्रदर्शन गर्दै भित्र जान खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो । विराटनगरमा प्रहरीले लछारपछार गरेपछि केही प्रदर्शनकारीलाई घाइते भएका छन् । के कति घाइते भएका हुन् पुष्टी हुन बाँकी छ ।
विराटनगर महानगरपालिकाले प्रवेशद्वारामा नफेरेको च्यातिएको झण्डा जेनजी प्रदर्शनकारीले फेरिदिएका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा झापाको दमकमा जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको छ । दमक नगरपालिकाको कार्यालय अगाडि युवाहरूले आगजनी प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राजन लिम्बूले जेन जीको प्रदर्शन काबुभन्दा बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको बताउनु भयो । प्रदर्शनकारीले ढुंगामुढा गर्दा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । जेन जी पुस्ताका आन्दोलनकारीहरुले सुनसरीको धरानमा पनि प्रर्दशन गरेका छन् ।