INSEC Online

📅 २०८३ जेष्ठ २१

खलङ्गाबासी पिउने पानीबाट वञ्चित

जिल्ला सदरमुकाम खलङ्गाका स्थानीयहरु चार दिनदेखि पिउने पानीबाट वञ्चित हुनु परेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका घरधुरीमा खानेपानीको हाहाकार भएको हो ।

महाकाली नगरपालिका–३ गारखोला खोलाबाट आएको पानी दुई ठाउँमा पहिरोले अवरुद्ध भएपछि खलङ्गामा खानेपानीको हाहाकार भएको हो । बाढीपहिरोका कारण बडाली गाउँ र मलबेला क्षेत्रमा खानेपानीका पाइप टुटफुट भएको वडा नम्बर ५ का अध्यक्ष दिलेन्द्रराज अवस्थीले जानकारी दिनुभयो ।

बजारमा पानी नआउँदा झण्डै २ हजार २ सय घरधुरी प्रभावित भएका छन् । पानी नहुँदा स्थानीयलाई बजार क्षेत्रमा दमकलमार्फत महाकाली नगरपालिकाले खानेपानी वितरण गरिरहेको नगरपालिकाका नायब सुब्बा तथा विपद् व्यवस्थापन शाखा प्रमुख नरेन्द्रसिह ठगुन्नाले बताउनु भयो । पानीको अभाव भएपछि केही स्थानीयले खेट्याखोला, गल्फै क्षेत्र, मोहतीको पानी बोकेर खान बाध्य भएका छन् ।

खानेपानी अभाव हुँदा पनि खानेपानीको जिम्मा लिएको निकायले निरन्तरको वर्षाका कारण सुचारु गर्न नसकिएको जनाएको छ । वडाध्यक्ष अवस्थी भन्नुहुन्छ, ‘पानी ल्याउने प्रयास भयो, तर निरन्तर पानी परिरहेको कारण जोड्न सकिएको छैन् । मौसम सफा हुनेवित्तिकै खानेपानी सुचारु गर्छौँ ।’

Photo 2025-09-02 Darchula

स्थानीय भने खानेपानीको बील चाहिँ निरन्तर उठाउने तर चार दिनसम्म पनि पानी सुचारु गर्न नसकेको भन्दै आक्रोशित भएका छन्। महाकाली नगरपालिका–४ का कमलसिंह धामी भन्नुहुन्छ, उपभोक्ताबाट निरन्तर खानेपानीको बील उठ्छ, तर निर्माण कार्यमा जहिल्यै ढिलाइ हुन्छ । बर्खाको समयमा सर्वसाधारणले खोलाको पानी पिउदा कुनै समस्या भयो भने जिम्मेवार को बन्छ ?,’ उहाँले भन्नुभयो ।

जिल्ला अस्पताल, दार्चुलाका डाक्टर रविन्द्र भट्टराईले बर्खाको बेला उसै त पानी दुषित हुने तर स्थानीयहरुले हाल खोलाको पानी पिउनु पर्ने अवस्थाले स्वास्थ्यमा गम्भीर समस्या देखिने भएकोले पानी सुद्धिकरण वा उमालेर मात्रै प्रयोग गर्न सुझाव दिनुभएको छ ।

जिल्लामा २०७७/०७८ सालदेखि सुरु गरिएको खलङ्गा सहरी खानेपानी तथा सरसफाइ आयोजनाको लागत २९ करोड रुपियाँ रहेको छ । निर्माणको जिम्मा ग्वालेक निर्माण सेवाले लिएको भए पनि सम्झौता अनुसार डेढ वर्षमै सम्पन्न हुनु पर्ने आयोजनाको काम सकिएको छैन् ।

खलङ्गा शहरी खानेपानी आयोजनालाई निर्माण गरेर हस्तान्तरण गर्नु पर्नेमा अहिले निर्माण व्यवसायी नै सम्पर्कमा नरहेको खानेपानी उपभोक्ता समितिका सचिव खडकसिंह धामीले बताउनु भयो ।

एसियाली विकास बैंकको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण तथा बाँकी उपभोक्ताबाट उठाइएको रकमबाट खानेपानी आयोजना निर्माण गरिएको हो । तर, बेला बेलामा खानेपानीका पाइप टुटफुट हुने र सरसफाइको कमी हुने गरेको गुनासो उपभोक्ताबाट आउने गरेको छ ।

अन्य

भिडियो