३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ताँजाकोट गाउँपालिका–२ घर भई सोही गाउँपालिका- ३ स्थित मैला स्वास्थ्य चौकीका इन्चार्ज ३५ वर्षीय लिलाराज शर्मा, ताँजाकोट गाउँपालिका–२ घर भई सोही स्वास्थ्यचौकीका कार्यालय सहयोगी ३२ वर्षीय रामबहादुर बोहरा र ताँजाकोट गाउँपालिका–३ घर भई एम्बुलेन्स चालक ३० वर्षीय मंगल शाहीलाई ०८२ भदौ ११ गते गिरफ्तार गरेको छ । घटनामा संग्लन आरोपित तीनै जनाले भदौ १० गते रातिको समयमा महिलाको कोठामा गएर बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा भदौ ११ गते उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा भदौ ११ गते नै आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इन्स्पेक्टर विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १२ गते जिल्ला अस्पताल हुम्लामा भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनुभयो । आरोपितहरुले पीडित महिलाको कोठामा गई बन्दक राखेको भन्ने सूचनाको आधारमा छप्रेला प्रहरी चौकीको टोली १० गते राती नै घटनास्थल पुगेको थियो । स्वास्थ्य चौकी इन्चार्ज शर्मासहित तीनै जनाले मदिरा सेवन गरी कोठामा आएर सामूहिक बलात्कारको प्रयास गरेको पीडित महिलाको आरोप छ ।