INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षमा ३ सय ६५ विपत् घटना: पीडित परिवार राहतको पर्खाइमा

जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रतिवेदन अनुसार एक वर्षमा ३ सय ६५ विपत्का घटना भएका छन् । आर्थिक वर्ष २०८१/०८२ को असारदेखि साउनमा बाढी डुवान, पहिरो, आगलागी, हावाहुरी, चट्याङ्ग र अविरल वर्षाका कारण नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । विभिन्न घटनामा १८ जना व्यक्ति घाइते भएका छन् । पहिरोमा परेर एक महिला बेपत्ता भएकी छन् । आगलागी, बाढीपहिरो र चट्याङका कारण ९७ पशुचौपाय मरेका छन् । विपतका ३ सय ६५ घटनाबाट ९८ घर र ७९ गोठमा क्षति पुगेको छ । यी घरगोठ मध्ये अधिकांश पूर्ण रुपमा क्षति भएकाले १६ घरका ६३ जना विस्थापित भएको डिएसपी सारुले बताउनुभयो । विपतको कारण चार सरकारी संरचना र नौ सवारी साधनमा समेत क्षति पुगेको छ । विपदका घटनामा ३ करोड २९ लाख ६६ हजार रुपियाँको अनुमानित भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

गत साउन ३० गते वर्षातको कारण रेसुङ्गा नगरपालिका–६ का ४३ वर्षीय सूर्यप्रसाद आचार्यको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठ अविरल वर्षाको कारणले भत्किएपछि स्थानीय र प्रहरीको सहयोगमा उद्धारको काम भयो । वडा, पालिका र प्रहरीकोमा गएर राहतको लागि कागजात बनाउनु पनि भयो । तर, अहिलेसम्म राहत पाउनु भएको छैन् ।

त्यस्तै गत साउन १९ गते मुसिकोट नगरपालिका–रङ्गनामका ६६ वर्षीय जयबहादुर थापाको गोठ अबिरल वर्षाको कारण भत्किँदा भत्कियो । साउन १९ गतेको वर्षातकै कारण धुर्कोट गाउँपालिका–१ राले माधचौराका ३३ वर्षीय दिपेन्द्र विकको गोठ अबिरल वर्षाको कारण भत्किएपछि गोठ पूर्ण रुपमा क्षति भयो ।

केही समय अघि इस्मा गाउँपालिका–२ की बिमला दर्जीको दुई तले घर जलेर नष्ट बन्यो । आगोले दर्जीको घरसँगै साढे दुई तोलाको सुनको सिक्री, नगद ३० हजार रुपियाँ र लत्ता कपडासहित अन्नपात जलेर नष्ट भयो । उहाँले सबै कागजपत्र बनाएर सम्बन्धित ठाउँमा पेश गरेपनि अहिलेसम्म सहयोग नआएकाले छिमेकीमा आश्रय लिएर दिनरात कटाएको गुनासो गर्नुभयो ।

वर्षात सुरु भएपछि वा सुख्खा समयमा पनि सडकको सास्ती स्थानीयले खेप्दै आएका छन् । विशेष गरेर मुख्य सडकमध्येकै कालिगण्डकी करिडोर धेरै पटक अवरुद्ध हुने गर्दछ । वर्षदिनमा करिडोर, रुद्रवेणी–वामी र रिडी–तम्घास सडक ७० भन्दा बढी पटक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले निकाले विवरणमा साउन महिनामा मात्रै जिल्लाका सडक ३८ पटक गरेर २ सय १२ घण्टा अवरुद्ध भएका छन् ।

अन्य

भिडियो