चौतारा सागाचोकगढी नगर पालिकाले गरिदिने भनेको बीमा सक्रिय नहुदा बिरामीहरु उपचारबाट बञ्चित भएका छन् ।
स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा बिन्दु हटाएर जुनसुकै अस्पतालमा बिमा सेवा लिन पाउने व्यवस्था गरेपनि चौतारा सागाचोकगढी नगरपालिका—७ का ६८ वर्षीया मनमायाँ दंगाल बिरामी भएर भक्तपुर अस्पताल पुग्नुभयो । तर लामो लाइनमा उभिएर बिमा टिकट लिन जानुभएकी उहाँ जब अस्पतालको बिमा टिकट लिने झ्यालमा पुग्नुभयो, उनको कार्ड नै निस्कृय रहेको थाहा भयो ।
‘उपचार त बिमाबाट हुन्छ भन्ने विश्वास थियो, तर कार्ड निष्किृय भयो भन्ने सुन्दा रोगको पीडासँगै अर्को पीडा थपियो,’ बिरामीले गुनासो गर्नुभयो । थोरै पैसा बोकेर अस्पताल पुग्नुभएकी उहाँ उपचार गर्ने कि नगर्ने भन्ने दुविधामा पर्नुभयो ।
त्यसैगरी चौतारा सागाचोकगढी नगरपालिका—९ की ६५ वर्षीया सुनरानी तमाङ पनि बिमा निस्कृय भएकै कारणले धुलिखेल अस्पतालमा बिमा सुविधाबाट वञ्चित हुनु पर्यो ।
चौतारा सागाचोकगढी नगरपालिकाले गत वर्ष पालिकाभित्र ज्येष्ठ नागरिक, अपाङ्ग, दलित, अल्पसङ्ख्यक, सहिद परिवार लगायतका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको थियो । घोषणा अनुसार फारम सङ्कलन गरी २ हजार २ सय ५० परिवारको बीमा पालिकाले सक्रिय पनि गर्यो । तर ०८२ जेठ महिना देखि सङ्कलन गरिएका ४ सय ८४ परिवारको बिमाको फारम भने रकम अभावका कारण थन्किएर बसेको नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले बताउनुभयो ।
नगर स्वास्थ्य शाखाका प्रमुख नेपालका अनुसार गत वर्षको लागि ८० लाख रुपियाँ बिनियोजित गरिएकोमा सो रकम सकिएपछि बिमा रकम तिर्न नसकिएको हो । चालु आर्थिक वर्ष ०८२/८३ मा बिमाको लागि १ करोड रुपियाँ विनियोजित गरिएको छ । यसवर्ष भने समस्या आउने छैन । उहाँको भनाइ छ ।
पालिकाले बिमाको लागि प्रतिपरिवार ३ हजार ५ सय रुपियाँ व्यहोर्दै आएको छ । परिवारमा पाँच भन्दा बढी सदस्य भए थप सदस्यको लागि प्रतिव्यक्ति ७ सय रुपियाँ तिर्नुपर्छ । तर पालिकाले सो रकम समयमा बीमा बोर्डमा बुझाउन नसक्दा अतिरिक्त सदस्य शुल्क तिरेका परिवार समेत बिमाबाट बञ्चित हुनु परेको छ ।
बोर्डको नियम अनुसार हरेक महिनाको २५ गतेभित्र रकम बुझाएपछि मात्रै तेस्रो महिनादेखि बिमा सक्रिय हुन्छ । साउन मसान्तमा निस्कृय भएको नागरिकहरुको बिमा अब छिटोमा कार्तिक १ गतेबाट मात्र सक्रिय हुनेछ ।
यसरी नगरपालिकाको ढीलासुस्ती र व्यवस्थापनको कमीका कारण अहिले बिरामी नागरिकहरु बिमाको सुविधाबाट बञ्चित भएका छन् ।