INSEC Online

📅 २०८३ जेष्ठ २१

नौ दिनसम्म पनि बनेन राष्ट्रिय परिचयपत्र

खार्पुनाथ गाउँपालिका–३ स्थित राया गाउँकी ८२ वर्षीया ज्येष्ठ नागरिक धनसरा बुढालाई राष्ट्रिय परिचय पत्र बनाउनकै लागि गाउँबाट सदरमुकाम सिमकोटमा स्टेचर मार्फत बोकेर ल्याइयो । गत साउन २७ गते मंगलबार घरबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा पुर्‍याएको उहाँका छोरा सत्या बुढाले बताउनु भयो । बुढाका अनुसार घरबाट करिब दुई घण्टा स्टेचरमा बोकेर गाडी सञ्चालन भएको मुख्य सडक रहेको बोक्च्या गौँडामा पुर्‍याइयो । त्यहाँबाट सोही दिन ८ हजार रुपियाँमा गाडी रिर्जभ गरेर सदरमुकाम सिमकोट पुर्‍याइयो । आँखा नदेख्ने र अन्य स्वास्थ्यमा निकै समस्या भएकी उहाँलाई सरकारको नीति अनुसार सामाजिक सुरक्षा भत्ताकै लागि बैँक खाता खोल्नुपर्ने बाध्यता छ । बिरामीले थला परेकी आमालाई राष्ट्रिय परिचय पत्र बनाउनकै लागि स्टेचरमा बोकेर ल्याए पनि नबन्दा समस्या भएको छोरा सत्या बुढाले बताउनु भयो । ‘राष्ट्रिय परिचय पत्र बनाउनकै लागि गाउँबाट स्टेचरमा बोकेर ल्याइयो । अहिले राष्ट्रिय परिचयपत्र बनेन,’ उहाँले भन्नुभयो, ‘बरु समय र पैसाको मात्रै नोक्सान भयो ।’ राष्ट्रिय परिचयपत्र बनाउनका लागि नौ दिनदेखि सास्ती भोगिरहेको उहाँले गुनासो गर्नुभयो ।

Photo 2025-08-21 Humla

प्रशासन कार्यालयमा जाँदा कहिले इन्टरनेटको त कहिले फर्मको समस्या देखाएर सेवाग्राहीलाई कर्मचारीहरुले फर्काउने गरेको बुढाको भनाइ छ । केही समयअघि जिल्ला प्रशासन कार्यालय हुम्लाका कर्मचारीले नै फर्म भरिदिने गरेको भए पनि पछिल्लो समय कर्मचारीले उक्त फर्म नभरेका कारण राष्ट्रिय परिचयपत्र बनाउनमा ढिलाइ भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । उनका अनुसार जिल्ला प्रशासन कार्यालय हुम्लामा फर्म भर्ने सुविधा नभएका कारण स्थानीय नागरिकले बजारमा रहेका पसलमा लाइन लाग्न बाध्य छन् । चार दिनदेखि राष्ट्रिय परिचयपत्र बन्न नसकेको अर्का सेवाग्राही ७६ वर्षीय टोपे बुढाले गुनासो गर्नुभयो । हरेक दिन बिहानदेखि बेलुकासम्म लाइनमा लागेर पनि पालो नआएपछि बेलुका रित्तो हात फर्कनु परेको उहाँको भनाइ छ । आइटी पसलमा फारम भरे वापत स्थानीय नागरिकले २ सय ५० रुपियाँ तिर्नुपर्ने बाध्यता छ । जिल्ला प्रशासन कार्यालयमै फर्म भर्ने व्यवस्था मिलाउन सेवाग्राहीहरुले माग गरेका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफूलाई जानकारी नभएको र आठ दिनसम्म के कति कारणले बनेन त्यसका लागि आफूलाई भेटेपछि तत्काल उहाँको समस्या समाधान गर्ने प्रतिक्रिया दिनुभयो ।

अन्य

भिडियो