INSEC Online

📅 २०८३ जेष्ठ २१

डोका बिक्न छोडेपछि चिन्तामा कालीगढहरु

हुम्लामा निगालो र बाँसबाट डोका बुनेर जीवनयापन गर्ने स्थानीय कालिगढहरू पछिल्लो समय बिक्री नहुँदा समस्यामा परेका छन् । परम्परागत रूपमा घाँस–दाउरा, अन्नपानीदेखि बजारबाट ल्याइने खाद्य सामग्रीसम्म डोकामै बोक्ने चलन रहेपनि हाल सडक सञ्जाल विस्तार भएसँगै गाडी पुग्दा डोकाको प्रयोग घट्दै गएको कालीगढहरुको गुनासो छ ।

अदानचुली गाउँपालिका–२ का भ्याल महताराले परमपरागत रुपमा नै डोका बुनेर परिवारको पालनपोषण गरेपनि पछिल्लो समय बिक्री नै नहुँदा समस्या परेको गुनासो गर्नुभयो ।

Photo 2025-08-20 Humla

‘कुनै बेला सामग्री बोक्न डोको अपरिहार्य हुन्थ्यो । अहिले गाडीले नै सामान पुर्‍याइदिन्छ । डोकाको आवश्यकता हरायो,’ उहाँले भन्नुभयो, ‘हाम्रा बनाएका डोका पनि बिक्री भएका छैनन् ।’ यस्तै, सर्केगाड गाउँपालिका–२ का सिंग फडेराले डोका बिक्री नहुँदा यो पेशा नै संकटमा परेको बताउनु भयो । बनाएका सामग्री समेत बिक्री नभएपछि पेशा नै परिवर्तन गरेको उहाँले सुनाउनु भयो । फडेराले भन्नुभयो, ‘एक दशकअघि ग्रामीण भेगका किसानले घरायसी प्रयोजनका लागि डोका, डाला, नाङ्लो, सुपो, चाल्नो, टपरीजस्ता सामान किन्थे । अहिले भने बाहिरबाट आउने प्लास्टिक र धातुका सामग्रीले सबैलाई विस्थापित गरिदियो । हाम्रो सामग्री नै बिक्दैन ।’ उहाँहरु दुई जना मात्रै होइन्, हुम्लामा पुस्तौंदेखि बाँस–निगालोको चोयाबाट सामग्री बुनेर गाउँमै बिक्री गर्दै जीविका चलाउँदै आएका कालीगढहरूले पछिल्ला वर्षमा बजार गुमाएका छन् । पहिले प्रति डोको १ हजार रुपियाँदेखि १ हजार ५ सय रुपियाँसम्म बिक्री हुने गरेकोमा हाल उक्त पेशा नै धरापमा परेको स्थानीय कालीगढहरूको दु:खेसो छ । उनीहरूका अनुसार आधुनिक विकल्पको बढ्दो प्रयोगका कारण अब यो परम्परागत सीप र पेशा हराउने हो कि भन्ने चिन्ता बढ्दो छ ।

अन्य

भिडियो