१२ वर्षीया बालिकाको ०८२ साउन २९ गते बलात्कारपछि हत्या गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका रामकुमार हिङमाङविरूद्ध पीडित पक्षले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा ०८२ साउन २९ गते झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेपछि पीडित पक्षले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा हिङमाङविरूद्ध किटानी उजुरी दिएको हो ।
एक महिना अघि हिङमाङको घरमा काम सघाउने र बालिकाको पालनपोषण गर्ने गरी राखिएकी छोरीको साउन २९ गते झुण्डिएको अवस्थामा शव फेला परेको बालिकाका बाबुले साउन ३१ गते पत्रकारहरूसँगको कुराकानीमा बताउनु भयो ।
छोरीको शव साउन २९ गते अर्धनग्न अवस्थामा फेला परेपछि घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बालिकाका बाबुले बताउनु भयो ।
मृतकका बुबाले घटनाको अनुसन्धान गरिदिन भन्दै उजुरी दिएको र घटनाका विषयमा अनुसन्धान भइहरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतीक विष्टले बताउनु भयो । “घटना शंकास्पद भएको भन्दै पीडित पक्षले ज्यानसम्बन्धी कसुरमा उजुरी दिएको छ, डिएसपी विष्टले भन्नुभयो । पीडित पक्षले भदौ १ गते दिएको उजुरी दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
“कानुनी प्रकृया अनुसार प्रहरीले शव सुरक्षित गरि मुचुल्का गरेको छ । घटनाको प्रकृति हेर्दा उहाँहरुले भनेजस्तो देखिँदैन । मृतकको शव परीक्षण भएको छ । त्यसको रिपोर्ट आएपछि केही भएको खण्डमा अनुसन्धान अघि बढाउँछौँ ।”
घटनाका विषयमा आफूलाई केही जानकारी नभएको र आफू घर पुग्दा प्रहरीले शव पोको पारेर मुचुल्का गरिसकेको हिङमाङले बताउनु भएको छ । “म प्रायः दिक्तेलमा बस्छु । घटनाका विषयमा जानकारी पाएपछि घरमा गएको थिएँ । के कारणले घटना भयो खुलेको छैन”, उहाँले भन्नुभयो, “मेरो परिवारमा भएको घटनाका विषयमा गहिरो अनुसन्धान गर्न प्रहरीलाई भनेको छु । आत्महत्या नभइ कोही कसैले हत्या गरेको भए अपराधीले उन्मुक्ति पाउनु हुँदैन । अनुसन्धानमा मेरो सहयोग रहनेछ । बिना आधार कसैलाई आरोप लगाउन पाइदैन । सत्यतथ्य बाहिर आउनुपर्छ ।”
घटनास्थलमा आफन्तले लगाएको आरोपलाई पुष्टि गर्ने केही प्रमाण नभेटिएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा भदौ १ गते गरी सोही दिन अर्खौमा सद्गत गरिएको छ ।