१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको ०८२ साउन २९ गतेको इजालसले आरोपितलाई दोषी ठहर गर्दै १२ वर्ष कैद, ५ लाख रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति र १ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८१ भदौ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण असोज १ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो । आरोपितलाई प्रहरीले असोज २ गते घरबाटै गिरफ्तार गरेको थियो ।