आमाको नामबाट नागरिकताको प्रमाणपत्र लिन पाउने संवैधानिक हक भएपनि व्यवहारमा प्रयोगमा आउन सकेको थिएन । तर आर्थिक वर्र्ष ०८१÷८२ मा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयबाट ११ जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाण—पत्र प्राप्त गरेका छन् ।
आमाको नामबाट नागरिकता पाउने हक भएपनि कतिपय ब्यवहारिक अल्झन र कानुनी जटिलताले समस्या भएको थियो, ती सबै समस्यालाई पन्छाएर आमाको नामबाट नागरिकता वितरण शुरु गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयो ।
आमाको पहिचान भएको तर बाबुको पहिचान नभएका व्यक्तिहरुलाई शैक्षिक योग्यताको प्रमाण—पत्र, जन्मदर्ता, वडा कार्यालयको सिफारिस लगायतको कागजपत्रको आधारमा आमाको नामबाट नागरिकता वितरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो ।
जिल्लाका १२ पालिकाहरु मध्ये बलेफी गाउँपालिकाबाट तीन जना, लिसंखुपाखर गाउँपालिबाबाट तीन जना, चौतारा साँगाचोकगढी नपाबाट दुई जना, सुनकोशी गाउँपालिकाबाट दुई जना र त्रिपुरासुन्दरी गाउँपालिकाबाट एक जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । आमाको नामबाट नागरिकता प्राप्त गर्नेहरुमा ६ जना पुरुष र पाँच जना महिला रहेका छन् । नागरिकताकै अभावमा विभिन्न सेवाबाट वञ्चित भएका उनीहरुले नागरिकता पाएसँगै सबै सेवामा पहुँच पुगेको साहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो ।
आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने व्यक्तिहरुमा १७ वर्ष देखि २३ वर्ष उमेर समूहका रहेको र उनीहरु बाबुको पहिचान नभएका व्यक्तिहरु भएको साहायक प्रमुख जिल्ला अधिकारी नेपालीले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष ०८१/८२ मा ४ हजार ४ सय ९९ जना महिला र ४ हजार २ सय ६० जना पुरुष गरी जम्मा ८ हजार ७ सय ५९ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको र ६ हजार ९ सय ६ जना महिला र ९ हजार ९ सय ७६ जना पुरुषलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयो ।