कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विपन्न, असहाय, बेवारिसे नागकिलाई स्वास्थ्य उपचार र यातायात खर्च दिन थालेको छ । सेवाग्राहीको भौगोलिक दूरीको आधारमा ५ देखि २० हजार रुपियाँसम्मको खर्च उपलब्ध गराउँदै आएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जानकारी दिनुभयो । आर्थिक अभावले उपचारका लागि अस्पताल जान नसक्ने, उपचारपछि घर फर्कने पैसा नभएर अलपत्र पर्ने नागरिकहरुलाई भुगोलका आधारमा यही आर्थिक वर्षबाट खर्च उपलब्ध गराउने मन्त्री भण्डारीले बताउनु भयो । ‘कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो । यसले विपन्न, असहाय र दुर्गमका नागरिकलाई राहत पुग्नेछ,’उहाँले भन्नुभयो, ‘त्यति मात्रै होइन, उपचारका क्रममा मृत्यु भई आर्थिक अभावमा धार्मिक संस्कार गर्न नसक्ने नागरिकका लागि शव वाहन बापतको रकम पनि व्यहोर्ने छौं ।’ उहाँका अनुसार उक्त रकम पाउन सम्बन्धित वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावले अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी भनी सिफारिस गर्नुपर्दछ । मन्त्रालयका अनुसार अहिलेसम्म दुई जना नागरिकले यो सेवा लिइसकेका छन् । यो कार्यक्रमका लागि मन्त्रालयले २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि