जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय सहयोगी २४ वर्षीय शंकर कार्कीलाई जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेल र इन्स्पेक्टर रुपेश शाहले खाना नमिठो बनाएको भन्दै कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । डिएसपी खरेल र इन्स्पेक्टर शाहले पीडितलाई कुटपिट गर्नुका साथै तीन दिनसम्म हिरासतमा राखि आफ्नो भनाई समेत कहीँ कसैलाई राख्न नदिएर सेवाबाट हटाएको पत्र दिएको पीडितले बताए । पीडित कार्कीले ०८२ साउन २६ गते न्यायका लागि पहल गरिदिन इन्सेकसँग अनुरोध गरेका छन् ।
साउन २२ गते दिउँसो खाना मिठो नभएको आरोपमा डिएसपी खरेलले गालिगलौज गर्नुका साथै कुटपिट गरी सोहि दिन क्वाटरगार्डमा थुनेर राखेको, साउन २३ गते इन्स्पेक्टर शाहले क्वाटरगार्डमा आई बेहोस हुने गरी कुटपिट गरेको पीडितले इन्सेकमा दिएको निवेदनमा उल्लेख छ ।
आफ्नो आमाको दुई महिनाको मासिक (जलदान) मा समेत जान नदिएर बिना कारण अन्यायपूर्ण ढंगले कुटपिट गरी चार दिनसम्म खान समेत नदिएर थुनेर राखी साउन २६ गते सेवाबाट हटाइएको पत्र दिँदै घर जा भन्दै हिरासत रिहा गरेको पीडित कार्कीले बताए ।
घटना बारे जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलसँग सम्पर्क गर्दा कार्कीले इमान्दार, अनुशासित र कतव्यनिष्ट भई काम नगरेको, आचरण सम्बन्धी कुराहरु बारम्बार उल्लङ्घन भन्दै सोधपुछ गर्न खोज्दा उत्तेजित भई हातमा रहेको सेरामिक्स प्लेटले एक्कासी आफूलाई प्रहार गरेको बताउनु भयो ।
प्रहरीको आचरण विपरित कार्य गरी सिनियर अधिकृत माथि हातपात गरेकोले कार्कीलाई प्रहरी ऐन २०१२ को दफा १४ तथा प्रहरी नियमावली २०७१ अनुसार कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी रामेश्वर कार्कीले बताउनु भयो ।
