INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मीहरुद्वारा भैरहवा कारागारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहितको टोलीले ०८२ साउन २६ गते भैरहवा कारागारको अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद ज्ञवाली, उपसचिव नवराज सापकोटा, मानव अधिकार अधिकृत अजित ठाकुर, कुमारी महरा, इन्सेक प्रतिनिधि रीमा बि.सी सहितको टोलीले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुको अवस्थाका विषयमा अनुगमन गरेको छ ।

कारागार रुपन्देही

अनुगमनका क्रममा कारागारमा रहेका कैदीबन्दीहरुको अवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई राखिएको ४ नं ब्लगको अवस्था र त्यहाँ रहेका सुरक्षाकर्मीहरु बस्ने ठाउँको समेत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा २ सय ५० जनाको क्षमता रहेको कारागारमा अहिले ६ सय ३१ जना रहेको । जसमध्ये ३ सय ३८ कैदी र २ सय ९३ बन्दी रहेका छन । सबैभन्दा बढी लागु औषधका १ सय ७५ जना र बलात्कारका १ सय ४० जना, कर्तव्य ज्यानका ७३ जना, चोरीका ६९ जना, डाँका चोरीका ३० जना, सवारी ज्यानका ४० जना, अपहरण तथा शरीर बन्धकका ६ जना, ठगी १४ जना र मानव बेचविखनका ६ जना लगायतका रहेका छन् ।

क्षमता भन्दा बढी कैदी बन्दीहरु रहेकोले सुत्दा, शौचालय जाँदा र नुहाउँदा पालो कुर्नुपर्ने बाध्यता रहेको, क्षमता भन्दा बढी कैदीबन्दीहरु हुँदा छालाजन्य रोगका सङ्क्रमणहरु बढेको र सरकारले कैदीबन्दीहरुको आधारभूत स्वास्थ्य अधिकारको विषयमा संवेदनशिलता नदेखाएका कारण कैदीबन्दीहरुले आफँै औषधी उपचार गर्नुपर्ने बाध्यता रहेको गुणासो गरेका छन् ।

अनुगमनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले कैदी बन्दीहरुले पाउनुपर्ने न्यूनतम मानव अधिकारको आधारभूत आवश्यकता पनि नपाएको बताउदै क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राखिनु नै मुख्य समस्या भएको बताउनुभयो ।

आयोगका सदस्य थापाले रविलाई राखिएको ब्लकभित्र राम्ररी हावा जाने झ्याल प्लाइले टालिएकोले हावा समेत लिन नसकेको कारागार प्रशासनलाई झ्याल खोल्न र रविको सुरक्षाको निम्त्ति झ्याल बन्द गरिएको हो भने सुरक्षा दिने काम राज्यको भएकोले सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्ने बताउनु भयो । सदस्य थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको विषयमा कारागार व्यवस्थापन विभाग र सरकारसँग कुरा गर्ने बताउनु भयो ।

कारागारलाई न्यून स्रोत र साधनका बावजुद कसरी राम्रो व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा गम्भीर भएर लागेको जेलर सुरेश भण्डारीले बताउनु भयो । उहाँले क्षमता भन्दा बढी कैदीबन्दीहरु राख्नुपर्ने आफूहरुको रहर भन्दा पनि बाध्यता भएको बताउनु भयो ।

जेलर भण्डारीले रवि लामिछानेलाई छुट्टै भिआइपी सरह राखेको विषयमा आफन्तलाई भेट्न नदिएको, सूचनाको पहुँचबाट टाढा राखेको, बाहिर निस्कन नदिएको, पत्रपत्रिका अध्ययन गर्न नदिएको भन्ने कुराहरुका विषयमा कारागार प्रशासनले खुला कारागार भएको र उहाँकै सुरक्षाको निम्ति पनि छुट्टै राखिएको बताउनुभयो ।

जेलर भण्डारीले पत्रपत्रिका कारगारमै नआउने भएकोले पत्रिका किनेर दिन नसकेको तर उहाँले आफूले मगाएको खण्डमा ल्याइदिने गरेको, आफन्तहरुलाई भेट्ने प्रबन्ध गरेको र अहिलेलाई सूचनाबाट बञ्चित नहोस् भन्नका लागि रेडियो सुन्ने व्यवस्था रहेको बताउनु भयो ।

अनुगमनका क्रममा झ्याल थुनिएको र हावा आवत जावत गर्न नपाएको विषयमा भण्डारीले कोभिडको समयमा आइसोलेशन बनाएको ब्लकमा उहाँलाई राखिएको,  झ्याल खोल्ने विषयमा उहाँसँग कुरा गरेको, सुरक्षाका कारण हो भने मलाई समस्या छैन, केही भएपछि भन्छु भनेर रवि जिलेनै भनेका कारण नखोलिएको बताउनु भयो ।

अनुगमनका क्रममा अनुगमनका क्रममा  लामिछाने बस्ने काेठा भित्र पस्दा बायाँ साइटमा पर्दा राखिएको र पर्दापछाडी खुला हाफ गारो लगाएको शौचालय रहेको छ । अर्को साइट दाँया पट्टी एउटा कालो कलरको सानो सोफा, त्यसको अगाडी सानो लो बेड, साइडमा एउटा टेबल जसमा टेबलको एक साइटमा पुस्तकहरु अर्को साइडमा खानेकुरा र तेल लगायतका सामग्रीहरु राखिएको थियो ।

त्यस्तै एउटा कालो रंगको कुर्ची ‘एउटा ठूलो फलामको कालो रंगको पङ्खा र अर्को स्ट्यान्ड भएको सेतो रंगको पङ्खा राखिएको थियो । झ्यालहरूमा प्लाइ राखेर बन्द गरिएको थियो ।

कारागार प्रशासनका अनुसार नजिकै घरहरू भएको र राजनीतिक व्यक्तित्व भएकोले कसैले ईटा ढुंगाले हिर्काउला की, सर्पदंशको डर भएकाले झ्यालहरू बन्द गरिएको प्रशासनले बताएको छ । तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्नका लागि सुझाव दिएका छौँ । प्रशासक सकारात्मक भएर हुन्छ गछौं भन्नुभएको छ ।

कारागारको बसाइका विषयमा थुनामा रहेका पूर्व गृहमन्त्री लामिछानेले सरकारको क्षमता अनुसार आफूको कुनै गुनासो नभएको, तर आफू जस्तो राजनीतिककर्मीलाई यस्तो असुरक्षित कारागारमा राखेको र आफूले कारागारबाट स्थानान्तरण गर्न माग गरे बमोजिम उच्च अदालतले स्थानान्तरण गर्नु भनेर आदेश गर्दा समेत आफूलाई स्थाानान्तरण नगरेको गुनासो गर्दै “मेरो राजनीतिक क्षेत्रको विषयमा सहयोग नगर्नुस्,तर मेरो मौलिक हकको विषयमा बोलिदिनुस्” भन्दै मानव अधिकारकर्मीहरुलाई आग्रह गर्नु भएको थियो ।

अनुगमनका क्रममा सुरक्षाकर्मीहरु बस्ने व्यारेकहरुको अवस्था पनि दयनीय रहेको, टिनको जस्ता पाताहरु राखेको जीर्ण अवस्थाको रहेको अनुगमनका क्रममा पाइयो छ ।

इन्सेक प्रतिनिधि रीमा बि.सी.ले लामिछानेलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ हस्तान्तरण गर्नु भएको थियो ।

अन्य

भिडियो