INSEC Online

📅 २०८३ जेष्ठ २१

खाल्डो खनेर गाडिएको शव प्रहरीद्वारा नियन्त्रणमा

दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका एकैघरका ११ वर्षीया बालिका मेनिषा बस्नेत र ६ वर्षीय बालक मेगराज बस्नेतको शव प्रहरीले २०८२ साउन २५ गते खाल्डो गाडिएको ठाउँबाट उत्खनन गरेर नियन्त्रणमा लिएको छ ।

भीरबाट लडेर मृत्यु भएको भनी गाउँलेसहित पीडित परिवारले प्रहरीलाई खबरै नगरी ०८२ साउन २३ गते सद्गत गरी गाडिएका दुई ओटा शव प्रहरीले साउन २५ गते उत्खनन गरी नियन्त्रणमा लिएको हो ।

कानुनी प्रक्रिया पुरा नगरी सामसुम पारेर शव गाडिएको भन्दै प्रहरीले अनुसन्धानका लागि शव निकालेको जानकारी दिएको छ ।

भवितव्यमा परेर एकै घरका बालबालिकाको मृत्यु भएको भएपनि प्रहरीलाई खबर दिएर सद्गत गर्नुपर्नेमा सामसुम तरिकाले पीडित परिवारसहित गाउँलेले मिलेर सद्गत गरेपछि अनुसन्धानका लागि साउन २३ गते साँझ शव गाडिएको स्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशान्त मिश्रले बताउनु भयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बका ६ जना बालबालिका साउन २२ गते हराएका मध्ये साउन २२ गते दुई जना मृत फेला परेका थिए ।

गोविन्द नामले चिनिने नवराज बस्नेतकाका दुई छोरी, एक छोरा र छिमेकीका तीन छोरी हराएकोमा बस्नेतको जेठी छोरी र छोरो मृत भेटिएका थिए । बस्नेतको माइली छोरी र छिमेकीका छोरी भने सकुसल भेटिएको स्थानीयले बताएका छन् ।  भीरबाट लडेर मृत अवस्थामा भेटिएका दिदिभाइको साउन २३ गते गाउँलेले अन्त्येष्टि गरेका थिए ।

मृतक बालबालिकाका बुबा नवराज बस्नेत शान्ति निकेतन मावि छोरम्बु सापतेलका कार्यालय सहयोगीको रूपमा कार्यरत हुनुहुन्छ । पत्नीले अर्कै बिहे गरेपछि दुई छोरी र एक छोरासहित नवराज घरमा बस्दै आउनु भएको थियो । प्राय सधैं छोराछोरी विद्यालयसँगै लिएर जाने नवराजले साउन २३ गते भने घरमा डिसहोम जडान गरेकाले ढिलाहुँदा छोराछोरीलाई आउँदै गर्नु भनेर विद्यालय एक्लै जानुभएको थियो । तर, सो दिन विद्यालय नपुगेका छोराछोरी घरमा नभेटेपछि खोज्दैजाँदा जङ्गलमा मृत भेटिएको पीडित परिवारले जानकारी दिएको छ ।

नवराजका दुई छोरी र एक छोरासहित छिमेकीकाका तीन जना बालिका हराएका थिए । उनीहरू साप्सु खोला तरेर थ्रि स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको छ ।

घर फर्किँदा बाटो बिराएर उनीहरू दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ स्थित खमारे भन्ने ठाउँमा पुगेका थिए । साँझसम्म बालबालिका घर नपुगेपछि खोज्दै जाँदा बुबा नवराजले आफ्ना दुई सन्तान मृत भेटेको बताउनु भएको थियो ।

बाटोमा बच्चाको चप्पल भेटिएपछि खोज्दै जाँदा खरुवा खोलामा जेठी छोरीको शव भेटिएको थियो । त्यसपछि विद्यालयका प्रधानाध्यापकलगायत गाउँलेलाई बुबा नवराजले खबर गरेको स्थानीयले बताएका छन् । छोरीको भन्दा केही माथि छोराको पनि शव भेटिएको थियो ।

नवराजकै माइली छोरीसहित अन्य तीन जना बच्चा भने बाटोमुनि ओढारमा भेटिएका थिए । सँगै आइरहेका साथी एक्कासी पछाडि नदेखिएपछि उनीहरू पनि खोज्दै फर्किएको तर नभेटेपछि आफूहरू अलपत्र परेर ओडारमा बसेको बताएका थिए । साउन २२ गते राति करिब ८ बजेको समयमा आफ्नै बुबाले मृत भेटेका बच्चा रातभरि गाउँलेले त्यही रुँगेर साउन २३ गते छोरम्बु ल्याएर दाहसंस्कार गरेका थिए ।

लडेर मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरिएको गाउँलेले बताएका छन् । साउन २५ गते प्रहरीले भने कानुनी प्रक्रिया पुरा नभएको भन्दै  शव गाडेको ठाउँबाट निकालेर जिल्ला ल्याएको हो । बालबालिकाको मृत्युको विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो