अदानचुली गाउँपालिकाको कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या परेको छ । सामान्य प्रशासनिक सेवाका लागि पुग्ने सेवाग्राहीले कर्मचारी अभावकै कारण सेवाबाट लिनबाट वञ्चित भएका छन् । कर्मचारी अभावमा सिफारिस, प्रमाणीकरण, जन्मदर्ता, विवाह दर्ता, नागरिकता सिफारिस जस्ता आधारभूत सेवा नपाएको अदानचुलीका स्थानीय मोहनसिंह बुढाले बताउनु भयो । ‘हामी सिफारिस लिन वा अन्य सानो कामका लागि गाउँपालिका जाँदा न त जनप्रतिनिधि भेटिन्छन्, न कर्मचारी,’ उहाँले भन्नुभयो, ‘कार्यालयमा कुर्सीहरू खाली, फोन गर्यो फोन उठ्दैन ।’ स्थानीय सरकारको मूल उद्देश्य जनतालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्नु भएपनि अदालनचुलीमा उक्त कुरा लागु नभएको बुढाले बताउनु भयो ।
गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेपछि र नयाँ कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढ्दा कार्यालयमा कर्मचारीको अभाव भएको हो ।
कर्मचारी अभावको समस्या समाधान गर्न गाउँपालिकाले ठोस कदम चाल्नुपर्ने सेवाग्राहीहरुको माग छ । कर्मचारी अभाव भएपछि जनप्रतिनिधि समेत कार्यालयमा आउन छोडेको अर्का स्थानीय मोतिलाल महताराले गुनासो गर्नुभयो ।
‘कार्यालयमा कर्मचारी र जनप्रतिनिधिको अनुपस्थितिले दैनिक कामकाजसँगै निर्णय प्रक्रियामा समेत ढिलाइ भएको छ,’ उहाँले भन्नुभयो ।
गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले कर्मचारी नभएर गाउँपालिकाको काममा बाधा नपुगेको दावी गर्नुभयो । केही प्राविधिक रुपमा आएका समस्याहरुको समाधान गर्नका लागि पालिकाले प्रयास गरिरहेको अध्यक्ष सिंहले बताउनु भयो ।